देवघाट, जेठ २३
विश्व वातावरण दिवस २०२४ को अवसरमा बुधबार विहान देवघाट गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न संघ संस्थाले बृक्षारोपण गरेका छन् ।
दिवसको अवसरमा देवघाटधाम जेसिजको आयोजनामा देवघाट गाउँपालिका–५ स्थित देवघाट–४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । देवघाटधाम जेसीजले हरेक वर्ष विश्व वातावरण दिवसमा गर्दै आएको बृक्षारोपण कार्यक्रम यस वर्ष पनि निरन्तरता दिएको हो ।
सो अवसरमा देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्ल, महासचिव प्रशन्न ढकाल सहिद जेसिजका पदाधिकारी तथा सदस्यहरु एवं देवघाट–४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बिष्णुप्रसाद अधिकारी लगाएत संस्थाका पदाधिकारीहरुको सहभागितामा विभिन्न जातका विरुवाहरु रोपण गरिएको थियो ।
यसैगरि यसै दिवसको अवसरमा कालिका सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा देवघाट–५ मा बृहत बृक्षारोपण गरियो ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर, वडा सदस्य सरस्वती परियार, याम बहादुर मगर, सव–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट, कालिका सामुदायिक वनका पूर्व अध्यक्ष भोजराज नैनावस्ती, देवघाट महिला सञ्जालका अध्यक्ष राधादेवी खनाल, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी, चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिल बहादुर गुरूङ, देउती सामुदायिक वनका अध्यक्ष सुर्य न्यौपाने, सीता सामुदायिक वनका अध्यक्ष भानु न्यौपाने लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा बृहत बृक्षा रोपण गरिएको थियो ।
यसैगरि विश्व वातावरण दिवसको अवसरमा देवघाटधाम स्थित महेश संस्कृत गुरुकुलका शिक्षक तथा छात्रहरुले महेश संन्यास आश्रम र चक्रवर्ती आश्रम परिसरमामा बृक्षारोपण गरेका थिए ।
‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ बुधबार विभिन्न कार्यक्रम सहित विश्व वातावरण दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।
सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो । त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ । दिवसको अवसरमा आज बृक्षारोपण, सरसफाई, प्रभातफेरी, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरिएको छ ।