देवघाटमा राष्ट्रिय परिचयपत्रको आवेदन फारम भरिने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २३

देवघाट गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्रको आवेदन फारम भरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही जेठ २५ गतेदेखी ३१ गतेसम्मको लागि देवघाट गाउँपालिकाबाट नै राष्ट्रिय परिचयपत्रको आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको हो ।

आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने सबैले राष्ट्रिय परिचयपत्रको फारम अनिवार्य रुपमा भर्नुपर्ने सरकारले निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयमा उक्त फारम भर्न आउने बृद्धबृद्धाको ठुलो भिड लागेको छ । बिहान ६ नबज्दै बृद्धबृद्धाहरु फारम भर्न प्रशासन कार्यालयमा लाइन लाग्न थालेपछि प्रशासनले गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग थप तिनवटा दर्ता स्टेशन उपलब्ध गराउन माग गरेको थियो ।

जिल्ला प्रशासनमा रहेको दुई वटा दर्ता स्टेशनबाट दैनिक बढिमा सय जनाको मात्र फारम भर्न सकिने तर चार सय भन्दा बढि बृद्धबृद्धाहरु फारम भर्न आउन थालेपछि भिड बढेको थियो । प्रशासनको निरन्तर दवाव पछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार थप तिनवटा दर्ता स्टेशन र जनशक्ति उपलब्ध गराएको छ ।

दर्ता स्टेशन थप भएपछि दुई वटा दर्ता स्टेशनलाई अव क्रमश वडा तहमा पठाईने प्रमुख जिल्ला अधिकारी जनादर्न गौतमले बताए । यसले प्रशासनमा हुने भिड कम हुने प्रजिअ गौतमको विश्वास छ । यसको लागि सबैभन्दा पहिलो चरणमा देवघाट गाउँपालिकामा आगामी जेठ २५ गते शुक्रबारबाट दर्ता टोली खटाईने छ । अन्य पालिकामा भन्दा देवघाटमा जेष्ठ नागरिकको संख्या धेरे भएको र बृद्धआश्रम समेत भएको हुँदा देवघाटमा पहिलो चरणमा दर्ता टोली पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । त्यसपछि क्रमशः अन्य पालिका र वडाहरुमा पनि दर्ता टोली खटाईने उनले बताए ।

देवघाट गाउँपालिकाले पनि बुधबार सुचना प्रकाशन गरि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुको आगामी आ.व. २०८१÷०८२ श्रावण देखि नवीकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य गरिने भएकाले देवघाट गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले फोटो खिचाउन र आवेदन दिन छुट हुनु भएका लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र आवेदन फारम भर्न आउन अनुरोध गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जेठ २५ गतेदेखी ३१ गतेसम्म वडा नम्बर ५ को सिटि हलमा आवेदन फारम भर्न सकिने व्यवस्था मिलाईएको बताए ।

वडा नम्बर ५ का नागरिकको लागि जेठ २५ देखी २७ गतेसम्म, वडा नम्बर ४ को लागि २८ गते, वडा नम्बर ३ को लागि जेठ २९ गते, वडा नम्बर २ को लागि जेठ ३० गते र वडा नम्बर १ को लागि जेठ ३१ गतेको समय निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

आवेदन फारम भर्नको लागि जेष्ठ नागरिकको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, विवाह दर्ता वा बसाईसरी आएमा बसाईसराई दर्ता प्रमाण–पत्रको सक्कल, तथा एकल महिला र विधवाको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता र विवाह दर्ता प्रमाण–पत्रको सक्कल चाहिने छ ।

साथै पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता, विवाह दर्ता, जन्म दर्ता प्रमाण–पत्रको सक्कल, अति अशक्त अपाङ्गताको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, बाबु आमाको नागरिकता, विवाह दर्ता र जन्मदर्ता प्रमाण पत्रको सक्कल र बालबालिकाको हकमा आमा बाबुको नागरिकता र जन्मदर्ता प्रमाण–पत्रको सक्कल अनिवार्य चाहिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू