दमौली, जेठ २३
म्याग्दे गाउँपालिकाले सहकारी संस्थाहरुबाट लिएको ऋण समयमै चुक्ता गर्न सम्बन्धित ऋणीहरुलाई अनुरोध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बुधबार सुचना प्रकाशित गरि समयमा नै ऋण रकम भुक्तान नगरेमा म्याग्दे गाउँपालिका सहकारी ऐन, २०७५ को दफा ५८ र ६१ को प्रयोजनको लागी सोही ऐनको दफा ६२ बमोजिम समेत ऋणी सदस्यको खाता, जायजेथा रोक्का राख लेखि पठाउन सकिने व्यवस्था रहेको जनाएका छन् ।
पछिल्लो केही समय देखि सहकारी संस्थाहरुमा आएको वित्तिय लगायत विविध समस्याले गर्दा सहकारी संस्थाहरुको व्यवस्थापनमा असहज परिस्थिति बन्दै गएको साथै, सहकारी संस्थाहरुबाट ऋण लिने ऋणि सदस्यले आफूले लिएको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवार पूर्ण अभिव्यक्ति समेतको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले संस्थामा सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना हुदै गएको भन्दै सुचनामा यस्तो अवस्थालाई मध्येनजर गर्दै सहकारी संस्थामा सदस्यहरुबाट लिएको बचत रकमबाट नै ऋण प्रवाह गरिने भएको हुँदा ऋणी सदस्यले आफुले लिएको ऋण समयमा नै चुक्ता गर्न अनुरोध गरिएको छ ।
समयमै ऋण रकम चुक्ता नगर्दा सहकारी संस्था र ऋणी स्वंयमलाई समेत प्रत्युपादक हुन जाने सुचनामा जनाईएको छ । साथै कतिपय सहकारी संस्थामा पुर्व सञ्चालक, सञ्चालक र व्यवस्थापक समेतले गैर जिम्मेवार भई ऋण नतिरेको समेत पाईएको भन्दै सुचनामा ऋणिहरुले समयमा नै ऋण रकम भुक्तान नगरेमा म्याग्दे गाउँपालिका सहकारी ऐन, २०७५ को दफा ५८ र ६१ को प्रयोजनको लागी सोही ऐनको दफा ६२ बमोजिम समेत ऋणी सदस्यको खाता, जायजेथा रोक्का राख लेखि पठाउन सकिने व्यवस्था रहेको जनाईएको छ ।
यसर्थ जे जुन सम्झौता वा शर्त कबुलियत अनुसार सहकारी संस्थाबाट ऋण लिएको हो सोही बमोजिम समयमा नै आफुले लिएको ऋणको सावाँ व्याज रकम सम्बन्धित सहकारी संस्थामा दाखिला गर्नु गराउनु हुन सम्वन्धित ऋणीहरुलाई म्याग्दे गाउँपालिकाले अनुरोध गरेको छ ।