देवघाटको खेल मैदानमा तारबार गरिएपछि खेलप्रेमीहरु आक्रोशितः गाउँपालिकाले चासो नदिएको गुनासो

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २३

देवघाट गाउँपालिका–५ देवपुर स्थित देवघाट एफएम पछाडीको देवघाट खेलमैदानको रुपमा रहेको सार्वजानिक जग्गामा कालिका सामुदायिक वन उपभोक्ता समितिले तारबार लगाएपछि त्यसले देवघाट क्षेत्रमा अहिले ठुलो बहस निम्त्याएको छ । खेलमैदानको रुपमा प्रदेश सरकार र देवघाट गाउँपालिकाले समेत ठुलो धनराशी खर्च गरेको उक्त जग्गालाई सामुदायिक वनले आफ्नो क्षेत्र दावी गर्दै तारबार लगाएपछि त्यसले खेलप्रेमीहरु आक्रोशित बनेका छन् भने देवघाट गाउँपालिका र सामुदायिक वनको आलोचना सुरु भएको छ ।

करिब १७ रोपनी क्षेत्रफलको सार्वजानिक जग्गामा खेल मैदान निर्माणको लागि २०७६ सालमा गन्डकी प्रदेश सरकार र देवघाट गाउँपालिकाको करिब १२ लाख रुपैयाँको लागतमा जग्गा सम्याउने र ग्याबिन जाली भर्ने काम भएको देवघाट युवा तथा खेलकुँद समितिका तत्कालिन अध्यक्ष शुकुलाल गुरुङले बताए । उक्त जग्गा सम्याउने काम सम्पन्न पछि गन्डकी प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले २०७६ सालमा उक्त देवघाट खेलमैदान निर्माण कार्यको शिलान्यास समेत गरेको थिए ।

यस अघि गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा अध्यक्ष रहन्जेल उक्त खेलमैदानको लागि गाउँपालिकाबाट केही न केही रकम सम्बोधन भएको र हालको नयाँ जनप्रतिनिधि आएपछि भने त्यो रकम रोकिएको गुरुङले बताए । दुई वर्ष यता खेलमैदानको लागि गाउँपालिकाबाट कुनै रकम विनियोजन नभएको र अन्य संघ संस्था कसैले पनि कुनै रकम उपलब्ध नगराएपछि उक्त खेलमैदान बेवारिसे बनेको गुरुङले बताए । बेबारिसे बनेको खेल मैदानमा गत जेठ १२ गते कालिका सामुदायिक वन उपभोक्ता समितिले तार बार लगाएपछि झन खेल मैदानको अस्तित्व र स्वामित्व नै गुम्ने चिन्ता भएको पुर्व अध्यक्ष शुकुलाल गुरुङले बताए ।

‘विगतमा केही व्यक्तिले अतिक्रमण गरि बेचबिखन समेत गरेको सार्वजानिक जग्गालाई संरक्षण गरि सम्याएर खेल मैदान बनायौं’ गुरुङले भने तर अहिले सामुदायिक वनको नाममा खेल मैदानको अस्तित्व नै मेटाउने काम भएको छ ।’ यो विचमा गाउँपालिकाले खेलमैदानको संरक्षण गरि बजेट विनियोजन गरेको भए खेलमैदानको स्वामित्व हराउने अवस्था नआउने गुरुङले बताए । अझैपनि उक्त तारबार हटाएर खेल मैदानको अस्तित्व फर्काउन सकिने भन्दै अव उक्त खेलमैदानको संरक्षण र पुर्वाधार निर्माणको जिम्मेबारी गाउँपालिकाले लिनुपर्ने बताए । अव गाउँपालिकाले खेल मैदान निर्माणको लागि बजेट विनियोजन गर्नु पर्ने गुरुङले बताए । साथै सामुदायिक वनहरुले पनि खेल मैदान निर्माणको लागि बजेट बिनियोजन गर्नुपर्ने उनले बताए ।

यसैगरि देवघाट युवा तथा खेलकुँद समितिका अध्यक्ष अमर फेवाली मगरले विगतमा गाउँपालिका र प्रदेश सरकारले समेत लगानी गरिसकेको खेल मैदान मास्न नहुने बताए । कालिका वन समितिले खेलकुँद समितिलाई कुनै जानकारी नदिई एकतर्फी रुपमा खेलमैदानमा तारबार लगाएको हुँदा अव उक्त तारबार हटाउनु पर्ने उनले बताए । तरबार लगाउने पैसाले खेलमैदानमा भएको खाल्डाखुल्डी पुर्न सकिने अध्यक्ष मगरले बताए । उक्त स्थानमा जसरी पनि खेलमैदान बनाउनु पर्ने आफुहरुको अडान रहेको भन्दै उनले यो विषयमा कसैसँग पनि सम्झौता गर्न नसकिने बताए ।

त्यसैगरि स्थानीय सामाजिक अगुवा तथा खेलकुँद समितिका पुर्व सदस्य बलबहादुर क्षेत्रीले उक्त काँडेतारबार कालिका वन समितिले लगाएको भन्दा पनि गाउँपालिकाले नै लगाएको जस्तो अनुभुती भईरहेको बताए । ‘गाउँपालिकामा स्थायी खेल मैदान छैन, खेलमैदानलाई कुनै बजेट छैन, खेलकुँदका गतिविधि ठप्प छन्’ उनले भने ‘कहिले कहाँ, कहिले कहाँ लगेर खेल खेलाईन्छ ।’ यस्तो अवस्थामा भएको एउटा खेल मैदानलाई पनि बजेट नहालेर बेवारिसे छाड्नु गाउँपालिकाको कमजोरी रहेको उनले बताए । गाउँपालिकाका जनप्रतिनिधिले खेलकुँद प्रति कुनै चासो नदिँदा र खेल क्षेत्रमा बजेट नछुट्याउँदा सामुदायिक वनले तारबार लगाएको भन्दै क्षेत्रीले यसलाई एउटा पाठको रुपमा लिएर अव आउने आर्थिक वर्षमा उक्त खेलमैदानलाई पुर्णता दिने गरि गाउँपालिकाले बजेट बिनियोजन गर्नुपर्ने बताए ।

कालिका सामुदायिक वनका पुर्व अध्यक्ष भोजराज नैनावस्तीले यस अघिका जनप्रतिनिधि हुँदा खेलमैदान बनाउने निर्णय भएको र सोही अनुसार जग्गा सम्याईएको बताए । तत्कालिन गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाको पालामा भएको निर्णय उल्ट्याउने षड्यन्त्र स्वरुप उक्त खेलमैदानमा तारबार लगाईएको नैनावस्तीले आरोप लगाए । सामुदायिक वनको तारबार लगाउने कार्यप्रति आफ्नो पनि असहमती रहेको भन्दै उनले तारबार लगाएर बाटो छेक्नु भन्दा पनि सामुदायिक वनले सिमाकंन गर्नुपर्ने बताए । अहिले गाउँपालिकाले खेलक्षेत्रमा बजेट नछ्ुट्याउँदा खेलकुँदका गतिविधि पुरै ठप्प रहेको उनले बताए । मैदान तयार गरेर नियमित खेलकुँदका कार्यक्रम सन्चालन गरेको भए तारबार लगाउनु पर्ने अवस्था नआउने उनको भनाई छ ।

कालिका सामुदायिक वन उपभोक्ता समुहका कृष्णराज न्यौपानेले ६ वर्ष पहिला कालिका सामुदायिक वन र चक्रवर्ती सामुदायिक वनको केही भाग छुट्याएर खेल मैदान बनाईएको बताए । यो विचमा सामुदायिक वन अतिक्रमणको कार्य भएको भन्दै उनले खेलमैदानमा काँडेतारबार गर्नु भन्दा पहिला गाउँपालिकासँग छलफल गरिएको बताए । खेलमैदान नबन्ने कारणले खेलमैदान अतिक्रम भई मासिने र बाढिले मैदानमा खाल्डो बन्न थालेपछि संरक्षणकोलागि तारबार गरिएको अध्यक्ष न्यौपानेले बताए । मैदान अलपत्र बनेपछि तारबार गरिएको भन्दै उनले तारबार गरिएपछि सबैको चासो बढेको र अव यसले पक्कै पनि निकास निस्कने बताए । अव यो मैदानमा खेलमैदान बनाउने हो की पार्क बनाउने हो पहिला निश्चित हुनु पर्ने भन्दै त्यसपछि आफुहरुले तारबार हटाउने उनले जानकारी दिए ।

यता देवघाट देवघाट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुंवरले देवघाट गाउँपालिकाबाट पर्याप्त बजेटको अभावमा खेलकुद मैदानको निर्माण कार्य अधुरो रहेको बताए । आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ विशेष जोड दिएर गाउँपालिका र गण्डकी प्रदेश सरकारसँग खेलमैदान निर्माणको लागि पर्याप्त बजेटको माग गर्ने वडा अध्यक्ष कुँवरले बताए । उनले गाउँपालिकाले आफै बजेट खर्च गरेर खेलमैदान बनाउन नसक्ने हुँदा भएको खेलमैदानको संरक्षण गरि पुननिर्माण गर्नुपर्ने बताए ।

वडा अध्यक्ष कुँवरले मंगलबार सामाजिक सन्जाल मार्फत देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने देवपुर नजिक रहेको खेलकुद मैदानबारे सामाजिक सञ्जालमा राखिएको धारणाहरू प्रती आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उक्त खेलमैदानबारे सरोकारवालाहरूसँग छलफल गरि समाधान गर्न सकिने र हाम्रा भाईबहिनिहरूलाई हाम्रै खेलमैदानमा खेलखेल्ने अवसर मिलाउन गाउँपालिका र वडा कार्यालयले प्रयास गरिरहेको उनले बताए । भुवनटार, भर्जनखोला र देवपुरको स्तरोन्नती र देवघाट खेलमैदानको डिपिआर समेत गरि सम्वन्धित मन्त्रालयमा समेत पेश गरिएको भन्दै उनले खेल क्षेत्रको विकास गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू