दुलेगौंडा, जेठ २४
नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीको नयाँ नेतृत्वको शुक्रबार विहान मतदान हुने भएको छ । बुधबारबाट सुरु भएको नगर कमिटिको दोश्रो अधिवेशन अन्तर्गत बिहिबार मतदाताको नामावली प्रकाशन, उम्मेदबारी दर्ता तथा उम्मेदबारी फिर्ता लगायतको निर्वाचन सम्बन्धि कार्यक्रमहरु भएको थियो ।
नगर कमिटिको अध्यक्ष पदको लागि ४ जनाको उम्मेदवारी परेको छ । नगरको नेतृत्वकालागि रघुनाथ पौडेल, दुर्गा कुमार श्रेष्ठ, देवन गुरुङ र राम कुमार श्रेष्ठको उम्मेदवारी परेको छ । ति मध्ये पौडेल नगर कमिटिका कार्यवहाक अध्यक्ष हुन् भने बाँकी निवर्तमान जिल्ला कमिटका सदस्य हुन् ।
त्यस्तै उपाध्यक्षमा नारायणदत्त अधिकारी, धर्मप्रकाश तिमिल्सीना, धनेश्वर श्रेष्ठ र लोकनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । सचिवमा तिर्थराज खनाल र डिल बहादुर थापाले उम्मेदवारी दिएका छन् । उपसचिव खुल्लामा सुरेन्द्र कुमार तामाङ र सन्तोष वाग्ले, उपसचिव महिलामा लक्ष्मी पौडेल, सानुमाया महत र गिता महतको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक पदमलाल लामिछानेले जानकारी दिए । यद्यपी उम्मेदबारको अन्तिम नामावली प्रकाशन नभएको हुँदा उक्त संख्या घट्न सक्ने अनुमान गरिएको छ ।
दुई खुल्ला सदस्यमा नारायण प्रसाद पन्थी, रामचन्द्र भण्डारी, निलकण्ठ अर्याल र चन्द्र प्रसाद गौतमगरी ४ जनाको उम्मेदवारी परेको छ । दुई महिला खुल्ला सदस्य आवश्यक पर्नेमा ७ जनाले उम्मेदवारी दिए । कमला भुजेल, गंगा भण्डारी, केशवति श्रेष्ठ, शारदा ढकाल लम्साल, विमला पौडेल, नुन माया विक र निर्मला अधिकारी वाग्लेले उम्मेदवारी दिएका हुन् । खुल्ला युवा सदस्यमा भने सबै सर्वसम्मत भए । रिता नेपाली, देविभक्त राना, मनोज बानीया, मुन कुमार गुरुङ, सन्तोष विक, भगवान पुन, जिवन भट्टराई क्षेत्री, सुमन श्रेष्ठ र संजय तिमिल्सीना युवाबाट सर्वसम्मत भएका हुन् ।
यसैगरी युवा महिलामा सविना श्रेष्ठ, मन्जु श्रेष्ठ, शकुन्तला श्रेष्ठ र मार्टिना कुमाल सर्वसम्मत भए । अन्य क्लस्टरहरुमा पनि आवश्यक भन्दा बढिको उम्मेदवारी परेको छ । सहमतिको प्रयास भइरहेको पार्टीले जनाएको छ । उक्त अधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।