देवघाट, जेठ २४
क्रसर उद्योगको कारण देवघाट गाउँपालिका–४ को गाईघाट र चितवनको भरतपुर मनपा–२९ को भोर्ले जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल जिर्ण भएको छ । पुल तर्दै गर्दा क्रसरको टिप्परले पुलको लठ्ठामा छुँदा पुल हल्लिएर सर्वसाधारण घाइते भएका छन् ।
क्रसर उद्योगको टिप्परले पुलको लठ्ठामा छोएपछि पुल हल्लिएको कारण विहिबार विहान तरकारी बेच्न भरतपुर तर्फ आएका देवघाट–४ चारघरे टोलका ७० बर्षिय धनबहादुर मगर पुलमा लडेर घाइते भएका थिए । उनको परिवारका सदस्यले भरतपुर लगेर उपचार गरेको देवघाट गाउँपालिका-४ का वडा अध्यक्ष मित्रलाल गुरुङ्गले बताए ।
क्रसरको कारण पुल जिर्ण हुनथालेपछि देवघाट गाउँपालिका वडा नम्बर ४ ले क्रसर उद्योगको व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई पत्राचार गरेको छ ।
क्रसर उद्योगको कारण पुल जिर्ण भई पुल सन्चालन समेत अवरोध आउन सक्ने भएपछि वडा अध्यक्ष गुरुङले उक्त क्रसर उद्योगलाई पत्र पठाई १५ दिन भित्र क्रसर उद्योगको व्यवस्थापन गर्न अनुरोध गरेका छन् । वडा अध्यक्ष गुरुङ सहित वडा सदस्यहरु बुद्धिमान भुजेल, शुक बहादुर थापा, गाइघाट बेलडाडा टोल बिकाश संस्थाका अध्यक्ष नरबहादुर गुरुङ र देबघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष योगेन्द्र गुरुङ लगायतको उपस्थितिमा महानगर वालुवा उधोग ध्यानाकर्षण गराईएको छ ।
भरतपुर महानगर तर्फको क्षेत्रमा महानगर बालुवा उद्योगको नाममा सन्चालित उक्त क्रसर उद्योगले आफ्नो सामान स्वेच्छाचारी ढङ्गले डम्पिङ गर्ने क्रममा टिप्परले पुललाई छोई क्षती पुगेको र सोही कारण पुल वारपार गर्दा सर्वसाधरण लडी घाइते समेत भएकोले क्रसर उद्योगलाई यसबारेमा पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत वास्ता नगरेको हुँदा अवको १५ दिन भित्र क्रसर उद्योग व्यवस्थापन गर्न अनुरोध गरिएको वडा अध्यक्ष गुरुङ्गले बताए ।
यसैगरि भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्षलाई समेत पत्र पठाई क्रसर उद्योगको कारण पुल जिर्ण भई देवघाट–४ का नागरिक आवत जावत गर्न समस्या परेको हुँदा उक्त झोलुङ्गे पुलमा क्षती न्युनिकरण गरि क्रसर उद्योगको सन्चालन तथा व्यवस्थापन गर्ने काममा सहयोग गर्न अनुरोध गरेका छन् ।