सिद्धान्त भन्दा सत्तामुखी भएकोले कांग्रेस कमजोर भयोः नेता जोशी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले सिद्धान्त भन्दा सत्तामुखी भएकोले कांग्रेस कमजोर भएको बताएका छन् । नेता जोशीले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताको विराशतबाट सिञ्चित नेपाली कांग्रेस इतिहासमै कमजोर भएको बताए । वीपी विचार समाज तनहुँको १४ औं साधारण सभा तथा सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै जोशीले सो कुरा बताएका हुन् ।

वीपी विचार राष्ट्रिय समाजका सभापति समेत रहेका नेता जोशीले भने ‘कांग्रेस वीपी कोइरालाको सिद्धान्त, विचार तथा आर्दश अनुसार नहिडेकोले कमजोर भएको छ ।’ अहिले कांग्रेसले वीपी कोइरालाको आदर्श, मूल्य, मान्यता र सिद्धान्तलाई बिर्सिएर सिद्धान्त भन्दा सत्तालाई प्राथमिकता दिएकोले कमजोर बनेको उनको भनाई थियो । पार्टीभित्र मेलमिलाप नगरी फरक आस्था भएकासँग चुनावी तालमेल गरिएकोले कमजोर भएको जोशीले बताए ।

‘जुन दिन नेपाली कांग्रेसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यही दिनदेखि कांग्रेस निरर्थक रहन्छ’ भनेर वीपी कोइरालाले भन्नुभएको स्मरण गर्दै नेता जोशीले अहिले कांग्रेस निरर्थक भएको बताए । नेताहरुबीच वार्ता र छलफल गरी एकतामा बाध्ने, कार्यकर्ताबीच मेलमिलाप गर्ने हो भने कसैसँग गठबन्धन नगरी कांग्रेस एक्लैले सरकार बनाउने जोशीको भनाई थियो । आफ्नोलाई मिलाउन भन्दा गठबन्धन गरेर चुनाव जित्छु भनेकोले काँग्रेस कमजोर बनेको जोशीको भनाई थियो ।

कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, समाजका गण्डकी प्रदेशका निर्वमान सचिव परशुराम गिरी, समाजका जिल्ला सभापति हरिशरण पण्डित, उपसभापति क्याप्टेन रेशमबहादुर गुरुङ, सचिव पञ्चबहादुर गुरुङ, सदस्यहरु रामदेव पन्थ, हिमलाल रानाभाट लगायतले पार्टीलाई सङ्किण सोचाईका साथ स्वेच्छाचारी ढङ्गबाट सञ्चालन गरि इतिहासलाई बिर्सिएको चर्चा गरेका थिए । कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सभापति भएकामा नेता जोशीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू