डुम्रे, असार ४
भानु नगरपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा तथा मध्य नेपाल ब्रोडकास्टङ प्रालीको सहजीकरणमा मंगलबार वडा नम्बर १ को सालबिस्नेमा सार्वजनिक सुनुवाई कार्यक्रमको सम्पन्न भएको हो ।



कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले आर्थिक वर्ष २०७९÷८० भित्र गरिएका गतिबिधिहरुको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए ।
कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले बिकास निर्माण र मानबिय बिकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राखेका थिए ।
कार्यक्रममा जिज्ञासाको क्रममा सञ्चालन गर्नुपर्ने भन्सार चन्द्रावती सडकको मापदण्डको विषय न्यायपालिका कृषि उपज व्यवस्थापन फोहोर व्यवस्थापन भानु प्रवेशद्वार मा गेट भानु चुदी गाउँको सडक लगायतका समग्र नगरपालिकाको सडक स्वरोजगार कार्यक्रम कृषि क्षेत्रमा कार्यक्रम युवा लक्षित कार्यक्रम तालिम अनुसार व्यवहारमा उतार्नुपर्ने जनप्रतिनिधिहरूले कर्मचारी सामूहिक बीमा आफ्ना बालबालिका पढाउने भनेपनि कार्यक्रममा नभएको बताए ।
यस्तै बाँदर आतंक नियन्त्रणका लागि कार्यक्रम ल्याउनुपर्ने लक्षित वर्गका लागि कार्यक्रम स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने पिउने पानीको समस्या भएको सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि उचित सम्बोधन नभएको अनुगमन निरीक्षणमा ध्यान दिनुपर्ने अनुदान दिने वास्तविक किसानले अनुदान नपाएको साधारण खर्च घटाएर पुँजीगत खर्च बढाउनुपर्ने साविकको शौचालय बालमैत्री शिक्षामा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
कालिमाटी–कुन्छा मोटर मार्गको अवस्था, नगरपालिकाकै केन्द्र हुनुपर्ने नगरपालिकाका विभिन्न ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवर्धन गर्नुपर्ने विषयवस्तु उठान गरेका थिए ।
नगरपालिकाका पदाधिकारीहरूले नागरिकहरूको गुनासो र सुझावहरूलाई ध्यानपूर्वक सुनेर तुरुन्त समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । साथै, नगरपालिकाको विकास योजना र आगामी कार्यक्रमहरूबारे जानकारी दिँदै जनप्रतिनिधिहरूले नागरिकहरूको सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरे ।
कार्यक्रमको समापनमा नगर प्रमुख त्रिपाठीले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, नगरपालिकाको सेवा सुधारका जनताको कामहरूलाई मध्यनजर गर्दै निरन्तर आफू लागिपर्ने बताए। जनताको बीचमा हुने सार्वजनिक सुनुवाई कार्यक्रमले नगरपालिकाको पारदर्शिता र नागरिकहरूप्रति उत्तरदायित्वलाई अझ सुदृढ बनाएको समेत ब्यक्त गरे ।
भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, उपसचिव एवं शिक्षा शाखा प्रमुख ध्रुव राज पौडेल, वरिष्ठ अधिकृत सुनिल पाण्डे, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, सामाजिक विकास शाखाका प्रमुख कृपाहरी लौडारी, स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, प्राविधिक शाखा प्रमुख विपिन श्रेष्ठ लगायत नगरपालिका अन्य शाखाका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका सरोकारवाला संघ संगठनहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार रामकान्त पौडेलले गरेका थिए ।