खानेपानी र सरसफाई देवघाटको मुख्य प्राथमिकतामा

Devghat Online

शेयर गरौ

देवघाट, असार ५

देवघाट गाउँपालिकाले खानेपानी र सरसफाइलाई मुख्य प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष ०८१।०८२ को नीति तथा कार्यक्रम मार्फत देवघाटले खानेपानी र सरसफाइलाई मुख्य प्राथमिकतामा राखेको हो ।

व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइमा थप जोड दिदै पूर्ण सरसफाइ उन्मुख गाउँपालिका कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापनमा क्षमता विकास गरी महामारी न्यूनिकरणको निम्ति सहयोग पुग्ने गरी कार्य गरिने तथा फोहोरलाई मोहोरमा बदल्न फोहोरलाई रिसाइकल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

विद्यालय तथा समुदायस्तरमा साबुनपानीले हात धुने कार्यक्रमलाई निरन्तरता दिईने, यस भेगमा पानी परीक्षण प्रयोगशाला नभएको र पानी परीक्षणमा निकै कठिनाइ भएकोले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूसँग सहकार्य गरी स्थानीय स्तरमा नै पानी परीक्षण प्रयोगशाला स्थापना गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

एक घर एक सुरक्षित चर्पी भन्ने हाम्रो नारा, समुन्नत देवघाट बनाउन लागी परौ सारा भन्ने आदर्श वाक्यलाई चरितार्थ पार्न चर्पीमा नमुना गाउँ निर्माणका लागि उपभोक्ता र दातृ निकायको साझेदारीमा वडा नं. २ र ३ का १०० घरमा चर्पी सुधार कार्यक्रम सञ्चालनमा ल्याइने तथा खानेपानी सुरक्षित भए नभएको एकीन गर्न सम्पूर्ण खानेपानी आयोजनाको पानी परीक्षण गरिनेछ र सुधारका कार्यक्रम ल्याइने अध्यक्ष थापाले बताए ।

सरसफाइलाई पूर्णता दिनका लागि ५ वटै वडाहरूलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकमुक्त वडाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याइने, सबै व्यक्तिलाई सुरक्षित खानेपानी उपलव्ध गराउन खानेपानी मुहान देखि मुखसम्म सफाई अभियान सञ्चालनमा ल्याइनेछ ।

त्यसैगरि हरेक घरमा बालमैत्री एक घर एक धारा निर्माण गरी सबै नागरिकको सुरक्षित खानेपानीमा पहुँच पुर्याईने तथा खानेपानीका मुहान संरक्षणका लागि उपयुक्त स्थानमा पुनर्भरण पोखरी निर्माण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न