दुर्गाबहादुर आले
ब्यास १४ केशवटार रहेको जोगीमडी नाम कसरी रहन गयो ?
केशवटारको जोगीमडी कहिले सथापना भयो ? कसरी स्थापना भयो ? सो जोगीमडीको स्थापना गर्ने व्यक्ति को थिए ? भन्ने विषयमा धेरैको जिज्ञासा आईरहेको र मलाई व्यक्तिगत रूपमा नै सो विषयमा खोज अनुसन्धानको लागि विशेष अनुरोधको कारण आज मैले उक्त जोगीमडिको विषयमा मैले बुझे जानेको र तत्कालिन समाजका समकालीन केही बयोवृद्धहरूसँग सोधपुछको आधारमा जोगीमडीको ईतिहास बारे यो सानो लेखौट प्रस्तुत गर्ने जमर्को गरेको छु ।
यस केशवटारको जोगीमडी वि.सं. २०२४ सालमा स्थापना भएको थियो । उक्त जोगीमडी एक जना दलजित नाम गरेका जोगीले स्थापना गरेका हुन् । उनी पहिला यसै ब्यास–१४ साविक केशवटार–३ हर्कपुरमा वि.सं १९८७ ÷०६÷२० गते जन्मेका थिए । उनको वास्तविक नाम दलबहादुर थापा मगर हो । उनी थुप्रै साथीहरूको साथमा लाहुरे हुने ठूलो सपना बोकेर भारत गएका थिए ।
भारत जाने क्रममा उनी भारतीय सेनामा भर्ती हुन जानुको सट्टा भारतको वनारस पुगि योगीहरूको संगतका कारण करिव ५÷७ वर्ष पछि एक्कासी जोगीको भेष धारण गरि घरमा श्रीमती र आमासँग भिक्षा दान मागी हालको यस केशवटार बजार नजिकैको थुम्कामा बसी त्यही नित्य निम ध्यान गरि बस्न थालेका थिए र सोही बेलादेखि उक्त स्थानलाई जोगीमडी भन्न थालियो । योगी दलजितले उक्त ठाउँमा बसोबास गर्न थालेदेखि विहान ३ बजे नै उठी तिनधारामा नुहाई जोगीकुटीमा र केशवटार क्षेत्रमा नित्य शङ्ख फुकी जोगीमडी र केशवटार क्षेत्रको रखवारी गर्नु हुन्थ्यो भन्ने जनश्रुति रहेको छ ।
उहाँ केवल जोगी मात्र नभई गाउलेहरूको घरघरमा गई रूद्री पूजा र सत्यनारायण पूजामा पण्डितको भूमिका निर्वाह समेत गर्नुहुन्थ्यो । यस जोगीमडीमा उहाँकै पहलमा ७ रोपनी जग्गा दुर्गाभवानीको नाममा दर्ता भएको थियो भने सो क्षेत्रमा उहाँले विभिन्न जातका वोटविरूवाहरू रोपण गरी एक वोटानिकल गार्डेनको रूपमा अहिले सम्म पनि कायमै रहेको छ । उहाँ अहिले हाम्रो माझ हुनहुन्न ।
उहाँको निधन वि सं २०५८÷०८÷१४ गते भएको थियो । अहिले आएर योगी दलजितको सम्झनामा ब्यास–१४ को आर्थिक सहयोग २ लाख ५० हजार र साना किसान आमा समूह र केशवटार युवा क्लवको सक्रियतामा उक्त स्थानमा जोगीको मूर्ति स्थापना गर्ने काम भई रहेकोछ । साथै यस ठाउँलाई केशवटार जोगीमडी बाल उद्यानको नाममा विकास गर्न परिवार सवलिकरण कार्यक्रम एसओएसले पनि यसै वर्ष ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आले व्यास नपा १४ का वडा सदस्य हुनुहुन्छ ।