भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

दमौली, असार २९

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइयो । सरल नेपाली भाषामा लेखिएको भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिका स्थित चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ ।

उनको निधन वि.सं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

भानु जयन्तीको अवसरमा शनिबार उनको जन्मस्थल तनहुँको चुँदी रम्घामा विशेष कार्यक्रम आयोजना गरियो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले आदिकवि भानुभक्तको जन्मस्थलको विकास र प्रबद्र्धनकोलागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाईन् ।

न्यौपानेले सरकारले राष्ट्रिय विभुती आदिकवि भानुभक्तको योगदानको कदर गर्न नसकेको उनको भनाई थियो । विगतमा संघीय सरकारको मातहतमा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समिति यस अघिको सरकारले स्थानीय तह मातहत राखेको भन्दै भानुभक्तलाई एउटा स्थानीय तहमा सिमित गर्नु भनेको उनको योगदानको अबमुल्यन गर्नु भएको सांसद न्यौपानेको भनाई थियो । आफु भानु नगरपालिकाको बासिन्दा भएको हुँदा पनि भानु जन्मस्थलको नागरिक भनेर चिनाउन पाउँदा आफुलाई गर्व लाग्ने न्यौपानेले बताइन् । भानुको विकासको लागि आफुले यस अघि पटक पटक संसदमा सरकारको ध्यानाकर्षण गराएको भन्दै न्यौपानेले अव पनि सरकारलाई दवाव दिन पछि नहट्ने बताइन् ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अधयक्ष ऋषीराम पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा संविधानसभाका सदस्य रामचन्द्र पोख्रेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाली काँग्रेसका जिल्ला सचिव सहदेव अधिकारी, नेकपा एमालेका भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट, आदिकवि भानुभक्त आचार्यको जिवनी कृतिका लेखक प्रा.डा. सर्वराज आचार्य लगायतले भानुभक्त आचार्यको योगदानको विषयमा मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा प्रकाशित तथा प्रा.डा. सर्वराज आचार्यद्वारा लिखित आदिकवि भानुभक्त आचार्यको जिवनी कृतिको विमोचन प्रमुख अतिथी तथा अन्य अतिथीहरुले संयुक्त रुपमा गरेका थिए भने गितल प्रतिष्ठान नेपाल तथा नाटक मन्च तनहुँले ‘म भानुभक्त’ नाटक मन्चन गरिएको थियो । त्यसैगरि भानु जयन्तीको अवसरमा आयोजित खुला कविता प्रतियोगिता, विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र खुला रामायण वाचन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा भानुका विभिन्न जात जातीहरुले विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सन्चालन समितिका कार्यकारी निर्देशक शंकर रानाभाट तथा स्वागत मन्तव्य समितिका सदस्य धनबहादुर रानाभाटले गरेका थिए ।

विभिन्न क्षेत्रका तिन जना सम्मानित

भानु जयन्तीको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने तिन जनालाई सम्मान गरिएको छ । २११ औं भानु जयन्तीको अवसरमा शनिबार आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा चुँदी रम्घामा आयोजित कार्यक्रम उक्त सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान दिनुहुने बरिष्ठ साहित्यकार शेषमणी आचार्य, कला र संस्कृतीको क्षेत्रमा योगदान दिनु हुने तथा भानु जन्मस्थल समितिको प्राङ्गणमा रहेको भानुभक्त आचार्यको पुर्णकदलको शालिकको निर्माता कलाकार पृथ्वीनारयण श्रेष्ठ तथा पत्रकारिता तथा सन्चारको क्षेत्रबाट भानुजन्मस्थलको बारेमा प्रचार प्रसार गर्नुहुने लोकवाणी दैनिक तथा राष्ट्रिय समाचार समिति तनहुँका प्रतिनिधि कृष्णचन्द्र न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न