दमौली, असार ३०
म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा वि.वि मिडिया प्रा.लि. दमौली तनहुँको सहजिकरणमा म्याग्दे गाउँपालिकाद्वारा चालु आ.व. २०८०÷०८१ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार वडा नम्बर ५ को कार्यालयमा सम्पन्न भएको छ ।



उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, सरसफाइ व्यवस्थापन, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनसिलता लगायतका कामले म्याग्दे गाउँपालिकालाई गन्डकी प्रदेशमै उत्कृष्ट बनाउन सफल भएको अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले गाउँपालिकाले उत्पादन र कृषिमा विशेष जोड दिएको बताए । उत्पादन विना पालिका समृद्ध नहुने हुँदा कृषि र उत्पादनले मात्र विकास निर्माणको ढोका खोलिने उनको भनाई थियो । पालिकाले जनजीविकाका सवालमा विशेष काम गरेको भएता पनि विपक्षीले विरोध मात्र गरेको उनको भनाई थियो । सकारात्मक कर्म नदेख्ने तर विरोधका नाममा मात्र फगत विरोध गरिरहने प्रवृत्तिले कही पनि नपुगिने हुदाँ रचनात्मक सहयोग सवैले गरेमा मात्र पालिका समृद्ध बन्ने श्रेष्ठले दावी गरे ।
‘मैले लामो समयदेखि समाज रुपान्तरण र विकासमा काम गरेको हुदाँ कुनै पनि अनैतिक अवान्छनिय र अर्मादित गतिविधी गर्दिन’ अध्यक्ष श्रेष्ठले भने ‘जनताको यथार्थ स्वरुप आफुले भोगेको हुदाँ जनताको सर्वोपरि विकास र समृद्ध वाहेक अन्य केही पनि सोच छैन ।’ भष्ट्राचारमा शुन्य सहनशीलता अपनाएको हुदाँ कुनै पनि आर्थिक अनुचित आफुलाई क्षम्य नहुने समेत अध्यक्ष श्रेष्ठले बताए ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले जनताको कामलाई प्राथमिकतामा राखि काम गरिएको बताए । गाउँपालिका तथा सरकार सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुखिको लागी दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताए । एकातर्फ उनीहरुको पहुँच नपुग्ने र सेवा लिन सम्म नसक्ने जनता पहिलो प्राथमिकीकरणमा पर्नुपर्ने भन्दै उपाध्यक्ष घिमिरेले सेवा लिनेले पाईरहने र नपाउनेले नपाउदाँ सर्वसाधरणको सरकार नवन्ने हुदाँ समतामुलक विकासमा जोड दिनुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भईरहेको बताए । सेवाग्राहीको समस्यामा आफु सदैव क्रियाशिल भएको अधिकारीले बताए । जनताको सेवाका लागी बसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई रहेको थियो । जनताको सेवाका लागी एकीकृत घुम्ति शिविर, मृगौला परिक्षण, पाठेघरको परिक्षण लगायतका विभिन्न कार्यक्रम गरेको हुदाँ भोलिका दिनमा आम जनताको आवश्यकताका आधारमा पालिका अगाडी वढ्ने अधिकारीले बताए ।

चालु आर्थिक वर्षको तेस्रो चौमासिक सम्ममा सम्पन्न भएका कार्यक्रम तथा गाउँपालिकाबाट सञ्चालित विकासका कार्यक्रमहरु, उपलब्ध सेवा सुविधा तथा नागरिकले उठाएका प्रश्नहरूमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुविधाहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरकार तथा विकास निर्माणका योजना र समस्याको समाधान गरी सेवाग्राहीको रुपमा आएका सर्वसाधारण प्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप लगायत पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनाई कार्यविधि बमोजिम आम सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।


सो कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष शिवबहादुर आले र वडा नम्बर ६ का अध्यक्ष हिरालाल गुरुङले पनि मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा पुर्वाधार शाखाका प्रमुख शिव ज्ञवाली, उद्योग तथा जिन्सी शाखाका प्रमुख प्रदिप न्यौपाने, योजना शाखाका प्रमुख श्रीराम खनाल, प्रशासन शाखाका प्रमुख इन्द्र खनाल, आर्थिक प्रशासन शाखाका प्रमुख शिवजी थापा, स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरे, शिक्षा शाखाका महेश भट्टराई, पशुविकास शाखाका प्रमुख डा. विनयकुमार शाह, कृषि शाखाकी शर्मिला पन्डित, सुचना प्रविधि शाखाका प्रमुख आकाश गुरुङ, पन्जीकरण शाखाका एककुमार श्रेष्ठ, महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता शाखाका शुकुमाया राना, घर नक्सा शाखाका रोमन पन्डित, नगर प्रहरी कमान्डर चन्द्रकुमार श्रेष्ठ र वडा नम्बर ५ की सचिव विमला गैह्रे लगायतले आ–आफ्नो शाखाबाट सम्पादित कामको बारेमा जानकारी गराएका थिए ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा आम सेवाग्राही जनताले गाउँपालिकाले गरेको काम कारवाहीको वारेमा जिज्ञासा राखेका थिए । कृषि र पशुपालनमा अनुदान उपलब्ध गराउनु पर्ने, सार्वजानिक भौतिक संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने, मल र बिउ सहज र पर्याप्त वितरण गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने, विकास निर्माण आवश्यकताको आधारमा नभई विभेद गरेको, पहुँचका भरमा काम गरेको जस्तो विषयमा जनताले जनप्रतिनिधीसँग जवाफ माग गरेका थिए । पालिकाले गरेको काम कारवाहीलाई आम जनतामा पुग्ने गरि प्रचार गर्नुपर्ने, जनताको उल्लेख्य सहभागितामा सार्वजनिक कार्यक्रम गर्नुपर्ने र जनताले महशुश गर्ने गरि पालिकाले काम नगरेको सेवाग्राहीको प्रश्न रहेको थियो ।
उठेका जिज्ञासाको गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रष्ट पारेका थिए । सो कार्यक्रमको सन्चालन विवि मिडियाको तर्फबाट प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

सो कार्यक्रममा म्याग्दे गाउँपालिकाका वडा नम्बर ५ का जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि, आमा समुह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।












