विष्णु मगर । देवघाट, साउन ३
देवघाट गाउँपालिका–५ स्थित रातमाटे सुन्दरबस्ती टोल विकास संस्थालाई नौमती बाजा हस्तान्तरण गरिएको छ । मधुवन सामुदायिक वन उपभोक्ता समुह देवघाट–५ को गरिवी निवारण तथा आयआर्जनका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा परम्परागत नौमती बाजा बजाउने १० दिने तालिम पश्चात तालिम लिने रातमाटे सुन्दरबस्ती टोल विकास संस्थालाई विहिबार नौमती बाजा हस्तान्तरण गरिएको थियो । तालिम गत असार १६ गतेदेखी २५ गतेसम्म भएको थियो ।
मधुवन सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डिलीराम गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले रातमाटे सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ लगायत टोल विकास संस्थाका पदाधिकारीहरुलाई सो बाजा हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आफ्नो संस्कार र संस्कृतिलाइ जोगाउन पर्ने भन्दै नौमती बाजा हामी नेपालीको पहिचान र संस्कृती भएको बताए । अध्यक्ष थापाले नौमती बाजा राष्ट्रिय बाजा रहेको हुँदा आजसम्म यस संस्कृतिलाई परियार जातिले बचाइरहेको र हाल आएर अन्य जातीका मानिसहरु पनि यो बाजाको प्रयोगमा लागेको भन्दै उक्त बाजाको समुहमा महिलालाई पनि समावेश गरेर जानु पर्ने बताए । देवघाट गाउँपालिका भरिका टोल बिकास मध्ये रातामाटे सुन्दर बस्ती टोल नमुना भएको हुँदा उक्त टोल विकास संस्थासँग समन्वय गरेर काम गर्न गाउँपालिका तयार रहेको बताए ।
उक्त कार्यक्रममा रातमाटे सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठले मधुवन सामुदायिक वन उपभोक्ता समितिले गरेको कामलाई प्रसंशायोग्य भएको भन्दै अबको दिनमा मधुवन सामुदायिक भित्र रहेको ६ वटा टोलविकासलाइ पनि समेट्न पर्ने र आफुले सिक्दै अरुलाइ पनि सिकाउदै जानुपर्ने बताए ।
कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णराज न्यौपानेले अहिले देवघाटमा नौमती बाजा बजाउन गाउँपालिकाले छुट्टाएको रकमको दुरपयोग भएको भन्दै सुन्दरबस्ती टोलले भने बाजाको सदुपयोग गर्ने विश्वास रहेको बताए । मधुवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम गिरीले अबको दिनमा मधुवन भित्र रहेको ६ वटै टोल विकास समितिलाई समेटेर कार्यक्रम गनिरे बताए । उनले उक्त बाजाको नाम मधुनौमती बाजा राख्ने पनि बताए ।
उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य याम बहादुर गुरुङ, सव–डिभिजन वन कार्यलयका प्राविधिक लक्ष्मण थापा, नौमती बाजा तालिमका प्रशिक्षक सुनिल परियार, सीता सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भानुभक्त न्यौपाने, तालवारी झारखानी टोलविकासका अध्यक्ष हर्कबहादुर थापा, विष्णु मगर लगायतले मन्तव्य राखेका थिए ।