दमौली, साउन ५
तनहुँको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष रु १६ लाख आम्दानी गरेकी छिन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले रु १६ लाख आम्दानी गरेकी हुन् । ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन् । माँ अम्बे अलौकिक कृषि फार्म दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिइन् ।



मासिक रु २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएको उनले बताइन् । अघिल्लो वर्ष रु १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले रु २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको बताइन् ।
“वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ”, उनले भनिन्, “असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ ।” यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उहाँले जानकारी दिइन् । उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ ।
अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन् । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । “ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ”, उनले भनिन् । गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम रु पाँचसयदेखि रु सात सयसम्म बिक्री गर्ने गरिएको उनले बताइन् ।