दमौली, साउन २७
म्याग्दे गाउँपालिका–४, थर्पुबजारमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । उक्त महायज्ञको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।
महायज्ञको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले महायज्ञ समग्र म्याग्देको प्रतिष्ठा सँग जोडिएको बिषय भएकोले सबैले साथ र सहयोग गरि सफल बनाउनुपर्ने बताए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उपाध्यक्ष घिमिरेले ५५ हजार ५ सय ५५ बराबरको सामाग्री सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।
महायज्ञ उद्घाटनको पहिलो दिनमा रामप्रसाद बतास तथा सेतीमाया बतास परिवारले एक लाख एक हजार एक सय १५ रूपयाँ दान सहयोग गरेका छन् । यस्तै बरचौर आमा समुहले ५ हजार ५५, भागिरथ घिमिरेले ११ हजार १ सय ११, रामचन्द्र कुमालले ५ हजार ५ सय ५५, श्री स्वास्थ्य आमा समुहले ५ हजार ७ सय ५, चित्र माया मल्लले ५ हजार ५५ र मीनबहादुर रानाभाटले ५ हजार १० रूपया दिएको म्याग्दे–४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
एक लाख दान दिने परिवारलाई बाजागाजा सहित सम्मान गरेर कार्यक्रम स्थलमा ल्याइएको थियो । महायज्ञमा मुख्य कथावाचकमा पण्डित दिपक प्रसाद पौडेल रहेका छन् । थर्पुको सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयोजना गरिएको कार्यक्रम मुल समारोह समिति संयोजक चित्र बहादुर शाहीले बताए ।
शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिको आयोजनामा हुने महायज्ञको संरक्षकमा म्याग्दे गाउँपालिका र सह–संरक्षकमा म्याग्दे गाउँपालिका वडा नम्बर ४ रहेको छ । महायज्ञमा हरेक दिनमा बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी, वेदपाठ, रूद्राभिषेक ( रूद्री पाठ ) सहस्र् जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पुजा, चौरासी पुजा, अन्नदान, भुमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, व्रतवन्ध, गुन्युचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धि सम्पुर्ण कार्य सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस्तै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तथा साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यस्तै भाद्र २ गते आइतबार भागवत पुस्तकमा तिलार्पण, लक्ष्यवर्ती प्रज्वलन, रात्री जाग्राम कार्यक्रम र ३ गते सोमबार यज्ञ समापन एवम् पुर्णाहुती कार्यक्रम रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
महायज्ञमा रू १ देखि ४ सय ९९ सम्म दान दिने भक्तजनको रकम दानपत्रमा राखिदिने, ५ सय देखि नगदी रसिद प्रसाद सहित नाम वाचन गरिने, १ हजार देखि सहयोग प्रदान गर्ने भक्तजनलाइ फुल टीका प्रसाद प्रदान, २ हजार देखि यज्ञ मण्डपमा बोलाइ टीका प्रसाद प्रदान, ५ हजार देखि सम्मान पत्रको साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने कार्यक्रम मुल समारोह समिति संयोजक चित्र बहादुर शाहीले बताए ।
यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने, २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने, ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने, ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइ दानवीर घोषणा एवम् सम्पुर्ण परिवारलाई अभिनन्दन गरिने र रू एक लाख देखि मानार्थ सम्मान प्रदान गरिनेछ । सो भन्दा माथि दान दिनेलाई समितिले निर्णय गरी उचित सम्मान प्रदान गरिने भएको छ । यस्तै महायज्ञ अवधिभर सामुहिक व्रतवन्ध, तुलादान, चौरासी पुजा, गुन्युचोली सहित अन्य शुभकार्य गर्न सकिने मुल समारोह उपसमिति संयोजक शाहीले जानकारी दिए ।
मन्दिर उपभोक्ता समितिका अध्यक्ष काशीमाया थापाको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रमको सञ्चालन सन्जय मल्लले र स्वागत केशबहादुर कुमाल तथा कार्यक्रमको बारेमा चित्र बहादुर शाहीले प्रकाश पारेका थिए ।