दमौली, साउन ३१
डेंगु रोगको रोगथाम र नियन्त्रण सम्बन्धमा विद्यार्थीहरुलाई सचेत गराउन घिरिङ गाउँपालिकाले विद्यालयहरुमा अभिमुखीकरण कार्यक्रम सन्चालन गरेको छ । यसैक्रममा विहिबार वडा नम्बर ५ स्थित कामधेनु माविमा डेंगु रोगको असर, यस रोगलाई नियन्त्रण तथा रोकथाम गर्ने सम्बन्धमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले डेंगु रोगलाई नियन्त्रण गर्न समुदाय स्तरबाट नै सचेत बन्नु पर्ने बताए । सबैले उक्त रोग लाग्न सक्ने पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने, घरबाहिर निस्कँदा लामो बाहुला भएको तथा पुरै हातखुट्टा छोप्ने लुगा लगाउने गर्नुपर्छ । विद्यार्थीहरुले आफुले सिकेको कुरा घर, परिवार तथा समाजमा पनि सिकाई डेंगुरोगबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने काममा लाग्नुपर्ने अध्यक्ष थापाले बताए ।
उक्त कार्यक्रममा घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्णप्रसाद रिमालले एडिस जातको लामखुट्टेबाट लाग्ने डेंगु रोगबाट बच्नको लागि आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने, पुरै शरिर ढाक्ने लुगा लगाउने गर्नुपर्ने बताए ।
त्यसैगरि घरका झ्याल ढोकामा जाली लगाउने तथा सुत्दा झुलको प्रयोग गर्ने, हाँस, सुँगुर–बंगुर पालन फर्म वरपर सँधै सरसफाई गर्ने, जमेको पानीमा लामखुट्टेले फुल पारेर बृद्धि विकास गर्ने हुँदा त्यस्ता सम्भावित स्थानहरुमा सरोकारवालाहरुको सहयोगमा खोज र नष्ट गर अभियान सन्चालन गर्ने तथा एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, गलेको महशुस हुने, आँखाको भित्री भाग दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, शरिरमा विविरा जस्ता लक्षण जस्ता स्वास्थ्यमा समस्या देखिएमा आफुखुसी औषधी सेवन नगरि तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जानुपर्ने रिमालले बताए ।
डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौ अभियान क्रमशः अन्य विद्यालय र समुदाय स्तरमा पनि सन्चालन गर्ने रिमालले बताए ।