दमौली, साउन ३२
म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष ०८०।८१ मा ८५.५० प्रतिशत भौतिक प्रगति गरेको छ । सो अवधिमा म्याग्देले पुँजिगत तर्फ ७५.४५ प्रतिशत र चालु तर्फ ८९.५४ प्रतिशत वित्तिय प्रगति गरेको छ । गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरुको बारेमा हालै जिल्ला समन्वय समितिद्वारा आयोजित बार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार गत आर्थिक वर्षमा म्याग्देमा प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै फोहोर मैला व्यवस्थापनकोलागि २२ रोपनी क्षेत्रफलमा ल्यान्डफिल्ड साईटको निर्माण गरि सन्चालन गरिएको छ । त्यस्तै अध्यक्ष, उपाध्यक्षसँग जनताको स्वास्थ्य कार्यक्रम अन्तर्गत आँखा शिविर र अप्रेशन, स्तन र पाठेघरको क्यान्सर परिक्षण र उपचार, मृगौला परिक्षण तथा अन्य स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
त्यसैगरि गत आर्थिक वर्षमा कोल्डस्टोरको निर्माण, सन्चालन र बिउ बिजनहरुको भण्डारण समेत सुरु गरिएको छ । हलगोरु पोषण अनुदान, दुधमा प्रति लिटर १० रुपैयाँ अनुदान, सुत्केरी पोषण खर्च ५ हजार तथा निशुल्क एम्बुलेन्स सेवा, सामुदायिक विद्यालयमा ४० प्रतिशत लागत साझेदारीमा ४ वटा विद्यालयलाई बस खरिद गरि प्रदान, गाउँपालिकाको कार्यालयबाट नै बैकिङ सेवा तथा सभाहल, मावनमैत्री स्थल निर्माण, प्रशासकीय भवन स्थल, अस्पताल स्थल, वडा नम्बर ३ को कार्यालय लगायका स्थानमा निशुल्क जग्गा प्राप्ती भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
गत वर्ष म्याग्दे गाउँपालिका संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) र वित्तिय जोखिम मुल्यांकन (एफआरए) मा उत्कृष्ट घोषित हुन सफल भएको थियो । त्यसैगरि ३ वटा सार्वजानिक सुनुवाई तथा सबै योजनाहरुको सार्वजानिक परिक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । म्याग्देमा १ वटा सामाजिक लेखा परिक्षण गरिएको छ भने ८ वटा कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गरिएको छ ।
म्याग्देमा गत आर्थिक वर्षमा ३ सय वटा योजना सम्पन्न भएको थियो । जसमा ५० लाख भन्दा बढिको योजना ९ वटा, ५ लाख देखी ५० लाख सम्मको ४८ वटा र ५ लाख भन्दा कमका २४३ वटा योजना सन्चालन भएका थिए । कुल योजना मध्येमा १२६ वटा गाउँपालिका स्तरको र १७४ वटा वडा स्तरका योजनाहरु रहेका थिए । गत आर्थिक वर्षमा १३ सयवटा विरुवा रोपण गरिएको थियो भने २ सय मिटर तटबन्ध गरिएको थियो । त्यस्तै एक घर एक धारा अन्तर्गत ४३० घरधुरीमा नयाँ धारा जडान गरिएको छ ।