दमौली, भदौ २
पहिरोको कारण १० दिन देखी अवरुद्ध रहेको बुद्धसिंह मार्ग स्थित तनहुँको बन्दीपुर गाउँपालिका–६ ढापको पहिरो आइतबार खुलाईएको छ । तल्लो सेती जलविद्युत आयोजनाको जेसिभीले उक्त पहिरो पन्छाई सडक खुलाएको बन्दिपुर गाउँपालिका–६ स्थित सेतीगंगा आधारभुत विद्यालयका प्रअ सिद्धान्त गर्जामगरले बताए ।
पहिरो पन्छाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला पुर्वाधार कार्यालय तथा बन्दिपुर गाउँपालिकामा पटक पटक अनुरोध गरेपनि कुनै सुनुवाई नभएपछि तल्लो सेती जलविद्युत आयोजनासँग अनुरोध गरे पछि आयोजनाले जेसिभी पठाएर पहिरो हटाएको गर्जामगरले बताए ।
पहिरोले सवारीसाधन सञ्चालन नहुँदा बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६ को खहरे, त्यस्तै देवघाट गाउँपालिका र आबुँखैरेनी गाउँपालिकाका केही वडाका सर्वसाधरण मारमा परेका थिए । यसअघि पनि वर्षाका वेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरो जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो । उक्त सडकको नाल्दिघाट, ढाप, खानीखोला, साराङघाट, प्युघर तथा अन्य स्थानमा भएका अवरोध हटाउन थालिएको गर्जामगरले बताए ।
‘१० दिनदेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको थियो,’ गर्जामगरले भने, ‘आइतबार पहिरो पन्छाएपछि केही राहत भएको छ ।’ पहिरोको कारण यातयात सन्चालन नहुँदा विरामी परेका व्यक्तिहरु, बृद्धबृद्धा र बालबालिका अझबढि मारमा परेको उनले बताए । विद्यालय पहिरोले जाने बालबालिकाहरु पनि मारेमा परेका थिए ।
गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त खण्डलाई लिने गरिएको छ । उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्नपश्चात् बाटो छोटिन्छ ।
पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय सिद्धान्त मगरले जानकारी दिए ।