दमौली, भदौ ६
पृथ्वीराजमार्ग अन्तर्गत व्यास नपा–१२ घाँसिकुवामा बुधबार साँझ खसेको पहिरो बिहिबार साँझबाट हटाईसकिएको छ । पहिरो विहिबार बिहानबाट हटाउन सुरु गरिएकोमा साँझ ६ बजे पहिरो हटाईसकेर सवारी एकतर्फीरुपमा सन्चालन गरिएको थियो ।
बुधबार साँझ खसेको ठुलो पहिरोले पृथ्वीराजमार्गको डुम्रे–दमौली खन्ड पुर्णरुपमा अवरुद्ध भएको थियो । डाँडो खसेर चार लेनको सडक छोपेर पहिरो बुल्दीखोलासम्म पुगेको थियो । उक्त पहिरो हटाउन कालिभन्जन गण (इ) का नेपाली सेनाहरु तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हटाईएको थियो । मुग्लिन–पोखरा सडक आयोजनाको जेसिभि र टिप्परले दिनभर लगाएर पहिरो हटाएका थिए ।
मुख्य राजमार्गमा पहिरो खसेपछि घाँसिकुवा, पोल्याङ, रानीगाउँ–हुँदै तालघरेको बैकल्पिक सडक प्रयोग गरिएको थियो । तर उक्त कच्ची सडकमा ठुला सवारी चलाएपछि ठुला सवारी साधन फँसेर विहिबार दिनभर उक्त बैकल्पिक सडकमा पनि यातयात ठप्प भएको थियो । विमलनगरबाट मुग्लिन–पोखरा आयोजनाको जेसिभी ल्याएर फसेका सवारी निकालिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विहिबार विहान सुचना प्रकाशन गरि पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हुँदा बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।