चितवन, भदौ ८
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका नागरिकको शव बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार दिउँसो भरतपुर आएकी छिन् ।



दुर्घटनाका घाइतेलाई भेट्न र मृतकको शव बुझ्न मन्त्री खडसे शनिबार बिहान काठमाडौं आएकी थिइन् । काठमाडौं उत्रे लगत्तै उनले शिक्षण अस्पतालमा गई घाइतेहरुलाई भेट गरेकी छिन् । सो लगत्तै गृहमन्त्री रमेश लेखकसँग घटनाको बारेमा जानकारी लिएकी थिइन् । शिक्षण अस्पतलमा १६ जना घाइतेको उपचार भईरहेको छ ।
त्यसपछि मन्त्री खडसे मृतकको शव बुझ्न चितवनको भरतपुर आएकी हुन् । दुर्घटनामा मृत्यु भएका २७ जनाको भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ । सबैको पोष्टमार्टम सकिएलगत्तै मन्त्री खडसेले सबै मृतकको शव बुझ्ने छिन् । त्यसपछि भारतबाट आएको भारतीय बायुयानको विमानले बसै शवहरु भारत लैजाने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान केन्द्रीय मन्त्री खडसेलाई काठमाडौं पठाएका थिए ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङदी नदीमा शुक्रबार भएको बस दुर्घटनामा २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा उनीहरुको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।












