मुग्लिन–पोखरा सडक विस्तारको कामलाई प्रभावकारी बनाउन मुख्यमन्त्री पाण्डेको निर्देशन

Devghat Online

शेयर गरौ

दमौली, भदौ २३

गन्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका मेयर, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक आयोजनाका प्रमुख तथा विद्युत प्राधिकरणका इकाई प्रमुखहरुलाई छलफलमा बोलाई मुख्यमन्त्री पाण्डेले सडक स्तरोन्नती कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

गन्डकी प्रदेशको लाईफलाईनको रुपमा रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम प्रभावकारी बनाउन उक्त छलफलले केही निर्णयहरु समेत गरेको छ । उक्त छलफलमा स्थानीय उत्पादन तथा निर्माण सामाग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी वापतको शुल्क रकम संकलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शिर्षकमा थप शुल्क रकम नलाग्ने गरी एकमुष्ट रुपमा प्रचलित कानून बमोजिम रोयल्टी वापतको शुल्क रकम संकलन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यस्तै निर्माण सामाग्री प्रशोधनको लागि निर्माण गरिएको प्लान्टमा संकलन हुने निर्माण सामाग्रीहरुको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामाग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नु पर्ने, सडक निर्माणको कार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत प्राधिकरणको तर्फबाट बिजुली पोलहरु रिलोकेट गर्ने, तथा चाडपर्व तथा पर्यटकहरुको आवागमनको कारण सडकमा चाप बढ्ने भएकोले मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) मा वर्षातले बिगारेको सडक क्षेत्रमा खाल्टाखुल्टीहरु पुर्ने तथा सवारी आवागमनमा सहज बनाउन आयोजनाको तर्फबाट काम गर्ने निर्णय भएको छ ।

यसैगरि बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा–भरतपुर भूमिगत विद्युतिकरण आयोजनाको तर्फबाट पोखरा अन्तराष्ट्रिय विमानस्थल गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य मिति २०८१ भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशिघ्र न्यूनतम दुई लेन सडक निर्माण कार्य सम्पन्न गर्ने गराउने निर्णय भएको मुुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू