झोलुङ्गे पुल निर्माणमा सहजिकरण गर्न भुवनटारबासीद्वारा भरतपुर–२९ का वडा अध्यक्षलाई अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २३

तनहुँको देवघाट गाउँपालिका–५ को भुवनटार र चितवनको भरतपुर महानगरपालिका–२९ को भतेरी जोड्ने त्रिशुली नदीमा झोलुङ्गे पुल निर्माणको लागि सहयोग गर सहजिकरण गर्न माग गर्दै देवघाट गाउँपालिका–५ भुवनटारका बासिन्दाहरुले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्षसँग माग गरेका छन् ।

आइतबार वडा अध्यक्ष सुर्यबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाई भुवनटारबासीहरुले उक्त निर्माण प्रक्रिया सुरु भईसकेको उक्त झोलुङ्गे पुलको निर्माण कार्यमा सहजिकरण गर्न अनुरोध गरेका हुन् । १६ जना भुवनटारबासीले हस्ताक्षर गरेर वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए ।

भौतिक पुर्वाधार मन्त्रालयको सस्पेसन्स डिभिजन कार्यालय पुल्चोक ललितपुरले २०८७ सालमा उक्त पुलको सर्भे, डिजाइन, लागत अनुमान लगाएत सबै कार्य सम्पन्न गरी टेन्डर आह्वान गरि निर्माण व्यवसायीसँग सम्झौता समेत भईसकेपछि चितवन तर्फ जग्गा सम्बन्धि विवाद देखाई अन्तिम समयमा रोकिएको थियो ।

२०७८ चैत १५ गते देवघाट गाउँपालिकाका तत्कालिन अध्यक्ष दुर्गबहादुर थापा र भरतपुर महानगरपालिका वडा नम्बर २९ का तत्कालिन वडा अध्यक्ष मन बहादुर मगरले संयुक्त रूपमा उक्त पुलको शिलान्यास गरेका थिए । तर निर्माण कार्य सुरु गर्ने बेलामा जग्गा सम्बन्धि कारण देखाउँदै विभागले पुलको निर्माण कार्य स्थगित गरेको थियो । यस अघि गत साता भुवनटारबासीले उक्त पुलको निर्माण कार्य सुचारु गर्न र यथाशिघ्र पुल निर्माण गर्न माग गर्दै देवघाट गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।

पुलको चितवन तर्फ पर्ने भागमा भुषण डंगोलको जग्गा पर्ने र उक्त स्थान नजिकै रिजेन्टा रिर्साेट समेत हालसालै सन्चालन भएको भएको छ । पुल निर्माणमा उक्त रिर्साेटको समेत आपत्ती रहेको बुझिएको छ । जग्गाधनी डंगोलले रिजेन्टा रिर्साेटसँग सहमती गरेमा पुलको लागि आवश्यक पर्ने जग्गादिन आफु तयार रहेको बताएको पुल निर्माणको लागि सक्रिय युवा विकास ढकालले बताए । यसैकारण आफुहरुले रिजेन्टा रिर्साेटलाई सहमतीमा ल्याउनकोलागि वडा अध्यक्ष गुरुङलाई अनुरोध गरेको ढकालले बताए । पुलको लागि जम्मा ५ आना जग्गा आवश्यक पर्ने र बाटोको लागि १.५ मिटर मोहोडा मात्र भएपनि पुग्ने भएकोले यस कार्यमा सहजिकरण गर्न वडा अध्यक्षलाई अनुरोध गरेको ढकालले बताए ।

उक्त भेटमा वडा अध्यक्ष गुरुङले पुल निर्माणको लागि आफ्नो तर्फबाट सक्दो सहजिकरण गर्ने आश्वासन दिएका थिए । वडा अध्यक्षबाट पनि सहयोग प्राप्त नभए आफुहरु भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल समक्ष ज्ञापनपत्र लिएर जाने ढकालले बताए ।

उक्त झोलुङ्गे पुल तनहुँ क्षेत्र नम्बर १ का तत्कालिन सांसद कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा योजना छनौटमा परेको थियो । देवघाट जानेक्रममा भुवनटारबासीले तत्कालिन सांसद श्रेष्ठलाई उक्त स्थानमा झोलुङ्गे पुल निर्माणको लागि मागपत्र पेश गरेका थिए । सोही अनुसार विभागका अधिकारीहरुले पुलको योजना समावेश गरि निर्माण सम्झौता समेत गरिएको थियो ।

पुल निर्माणकोलागि तनहुँ तर्फ कुनै समस्या नरहेको र यदी समस्या आएमा स्थानीय बासिन्दाले समाधान गर्ने ढकालले बताए । झोलुङ्गे पुलको अभावमा भुवनटारबासी राजमार्गमा निस्कन करिब एक घन्टा हिड्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू