दमौली, भदौ २७
सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । दमौलीको सुविधा सम्पन्न होटल औपचारिक रूपमा विहिबारदेखि सञ्चालनमा आएको हो ।
सिद्धार्थ हस्टिपालिटी अन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीमा सन्चालन गरिएको होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्ने सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।
होटल र दुई वटा फिल्म हल समेत रहेको उक्ते परियोजनामा करिब १ अर्ब रुपैयाँ लगानी भएको होटल व्यवस्थापनको जिम्मा लिएको एपेक्स हस्पिटालिटी लिमिटेडका कार्यकारी प्रमुख सुशिल न्यौपानेले बताए । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो ।
नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापन सिद्धार्थ ग्रुपसँग सहकार्य गरिएको न्यौपानेले बताए ।
होटलमा सुविधासम्पन्न कूल ३४ वटा कोठा छन् । त्यसबाहेक करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । ती हलमा सभा, सम्मेलन, विवाहलगायत पार्टी तथा भोज गर्न सकिन्छ ।
नेपालको पर्यटन क्षेत्रका प्रमुख गन्तव्यहरु पोखरा र बन्दिपुरको बीचमा रहेको दमौली आफैमा विविधतापूर्ण र प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ रहेको र महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय गन्तव्यमा आउने पर्यटकसमेतलाई स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याईएको न्यौपानले बताए ।
पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे छन । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकले मनोरञ्जन र आतिथ्य एकै स्थानमा पाउनेछन् ।
पर्याप्त सवारी साधन अट्न सक्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । होटलमा आवश्यक सबै प्रकारका सुविधासहित उचित मूल्यमा सेवा उपलब्ध गराइने ग्रुपको भनाई छ ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रुपमा ४० जनाले रोजगारी पाएका छन् भने स्थानीयको संख्या नौ छ ।
उक्त होटलको विहिबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे ।