उच्च जोखिम भएको जिल्लामा शुक्रबार र शनिबार रात्री बस नचलाउन आग्रह

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज १०

मनसुन सक्रिय भएपछि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएल गत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिम भनेर तोकिएका ५६ जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार धान नकाट्न, काटिसकेको भए तत्काल थन्क्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ । त्यस्तै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि आग्रह गरिएको छ ।

विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको तनहुँ सहित १० जिल्ला, लुम्बिनीको १२ जिल्ला, कर्णालीको ५ जिल्ला र सुदूरपश्चिमको ३ जिल्लामा उच्च जोखिम रहने जानकारी दिएको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण देशभर मनसुन सक्रिय भएको विभागले जनाएको छ । मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित वर्षा हुने विभागको भनाइ छ ।

वर्षाका कारण बाढी, पहिरो र भू–क्षयको जोखिम रहेको छ । रातको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी र तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाई छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सार्वजनिक अपिल गरेको छ । खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, तथा पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही अलर्टमा रहन पनि सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू