दमौली, असोज १०
व्यास नपा–१४ केशवटारकी क्यान्सर पीडित ६३ बर्षिय तममाया आलेको उपचारकोलागि व्यास १४ का युवा समाजसेवी भुवनसिंह थापाको एकल प्रयासमा २ लाख ३६ हजार २७४ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । आफ्नो युट्यव च्यानलको माध्यमबाट सुरु गरेको सहयोग संकलन अभियानको क्रममा उक्त रकम संकलन भएको समाजसेवी थापाले बताए ।



थापाले हाललाई आर्थिक सहयोग संकलन अभियान सकिएको भन्दै संकलित रकम विहिबार क्यान्सर पीडित तममाया आलेको श्रीमानलाई हस्तान्तरण गरे । थापाले सन्चालन गर्दै आएको भुवनसिंह थापा युट्युव च्यानलको माध्यमबाट आलेको उपचारको लागि सहयोग संकलन सुरु भएको थियो । क्यान्सर पीडित आलेको रोग तथा उनको पारिवारिक आर्थिक अवस्थाको बारेमा आफ्नो युट्युव च्यानलबाट प्रशारण गरेपछि उक्त भिडियो हेरेर सहयोगी व्यक्तिहरुले आफुलाई सम्पर्क गरि आर्थिक सहयोग पठाएको थालेको थापाले बताए ।
विशेष गरि व्यास नपा १४ स्थायी घर भई हाल स्वदेश तथा विदेशमा रहनुहुने धेरैले आफुलाई सम्पर्क गरि आर्थिक सहयोग पठाएको थापाले बताए । थापाले आफुलाई प्राप्त भएको रकम र दाताको नाम आफ्नो फेसबुक पेजबाट सार्वजानिक गर्दै आएका थिए । यसले रकमको पारदर्शीता पनि देखाउने र सहयोग गर्न चहाने अन्यलाई पनि उत्साह जाग्ने थापाले बताए ।
क्यान्सर पीडित आलेको चितवनको भरतपुर स्थित विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । उनमा गत मंसिरमा मात्र क्यान्सर भएको पुष्टि भएको थियो । क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएको जानकारी पाएपछि वडाबासीलाई सहयोगको लागि अपिल गरिएको व्यास नपा वडा नम्बर १४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए । व्यास १४ का टोल विकास संस्थाहरुले वडा कार्यालय मार्फत सहयोग गरिरहेको र संकलित सबै रकम आलेको परिवारलाई हस्तान्तरण गरिएको वडा सदस्य आलेले बताए ।