पर्यटन दिवसको अवसरमा ‘भिजिट बन्दिपुर–२०२५’ घोषणा

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज १२

विश्व पर्यटन दिवसको अवसरमा ‘भिजिट बन्दिपुर–२०२५’ घोषणा गरिएको छ । ४५ औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार बन्दिपुरमा आयोजित कार्यक्रममा ‘भिजिट बन्दिपुर–२०२५’ घोषणा गरिएको हो ।

पहाडकी रानीको नामले चिनिने बन्दीपुरमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले विश्व पर्यटन दिवसको अवसर पारेर भिजिट बन्दिपुरको लोगो सार्वजानिक समेत गरियो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशकी कृषि भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले संयुक्त रुपमा भिजिट बन्दीपुर–२०२५ को लोगो सार्वजानिक गरिएको हो ।

बन्दीपुर भ्रमण वर्षले समृद्ध बन्दिपुर निर्माणकालागि थप टेवा पुग्ने मन्त्री जिसीले बताइन् । उनले कृषिमा लगानी बढाई किसानलाई प्रोत्साहन गरी किसानको आयआर्जनमा वृद्धि गर्न यस पर्यटकीय क्षेत्रले थप सहज बनाउने बताईन् । उनले भनिन् ‘बन्दीपुरको सुन्दरता यहाँको ऐतिहासिक पुरातात्विक क्षेत्र मठ मन्दिर तथा गढी लगायतका क्षेत्रहरूको प्रचारप्रसार गर्न सके पर्यटकहरूको सङ्ख्या वृद्धि गर्न सकिनेछ ।’

पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । घुम्न जाउँ है बन्दीपुर अन्तर्गत अघिल्लो आर्थिक वर्ष देशका प्रमुख सहरहरू काठमाडौँ पोखरा चितवन बुटवल भैरहवा लगायतका स्थानमा त्यहाँका सरोकारवाला निकाय तथा विभिन्न संघसंस्था सँग अन्तरक्रिया गरी बन्दीपुर घुम्नका लागि निम्ता गरिएको अध्यक्ष थापाले बताए ।

बन्दीपुरका विशेष गन्तव्यहरूलाई चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरी क्युआर कोडबाट स्क्यान गरी सजिलै पढ्न हेर्न र सुन्न सकिने व्यवस्था गरिसकिएको छ । गत आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाको पर्यटकीय क्षेत्रको बारेमा पर्यटकहरूलाई बुझ्न सहज गराउनका लागि भिडियो डकुमेन्ट्री समेत निर्माण गरी प्रचारप्रसार गरिराखिएको छ ।

यसैगरि बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुर–२०२५ मा वर्षभरी गाउँपालिकाका सबै वडाहरूमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन गरिने र वर्षभरि नै पर्यटकहरूलाई विभिन्न प्याकेज दिईने बताए ।

बन्दिपुरको मौसम गर्मीमा शीतलता जाडोमा बिहानै घामको किरण त्यस्तै यहाँबाट देखिने दर्जनौं हिमशृङ्खला, संस्कृति रहनसहन सयौँ वर्ष पुरानो बस्ती पर्यटकहरूको आकर्षण हो । यसैगरि खड्गदेवी मन्दिर, बिन्ध्यबासिनी, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, पातालीद्वार गुफा, मणि मुकुन्दसेन पदमार्ग (मिनी ग्रेटवाल), तीनधारा, टुँडिखेल, पहाडपानी, सहिद स्मारक, रानी वन, गुम्बा, मणि मुकुन्देश्वरी, पद्म पुस्तकालय रामकोट, धरमपानी, कोरीखा हुस्लाङकोट चन्द्रकोट लगायतका स्थानहरूलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा राखेको छ ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू