दमौली, असोज १४
पृथ्वीराजमार्गको बैकल्पीक सडकको रुपमा लिइएको बुद्धसिंह मार्ग पहिरोको चपेटामा परेको छ । गत विहिबार र शुक्रबार परेको पानीले उक्त सडकको एक दर्जन भन्दाबढि स्थानमा पहिरो गएको बन्दिपुर गाउँपालिका–६ स्थित सेतीगंगा आधारभुत विद्यालयका प्रअ सिद्धान्त थापा मगरले बताए ।
पहिरोका कारण व्यास नपाको बेलबास, सुँडे, मास्दी, बन्दिपुर गाउँपालिकाको खहरे, नाल्दी सराङघाट, आबुँखैरेनी गाउँपालिकाको तल्लो साराङघाट तथा प्यूघर लगायतका स्थानमा सडक अवरोध भएको छ । पहिरोको कारण यातयात सन्चालन नहुँदा व्यास नपाको वडा नम्बर १३ र १४ को केही भाग सहित बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६ आबुँखैरेनी गाउँपालिकाको वडा नम्बर ५, देवघाट गाउँपालिकाको वडा नम्बर ३ सहित ऋषिङ गाउँपालिकाको वडा नम्बर ३ का जनता प्रतक्ष्य प्रभावित भएको बुद्धसिं मार्ग सरोकार समिति संयोजक समेत रहेका सिद्धान्त थापा जानकारी दिए । त्यसबाहेक मोटरसाईकलमा उक्त सडक हुँदै चितवनको जाने यात्रुहरु पनि मारमा परेको थापा मगरेले बताए ।
सडक सन्चालन नहुँदा विरामी, जेष्ठ नागरिक तथा महिला र बालबालिकालाई समस्या हुने थापाले बताए । उक्त सडकको पहिरो पन्छाई यथासक्य यातयात सुचारु गराउन बन्दिपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पुर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराईएको उनले बताए ।
गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि सँुढे सम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।
दमौलीदेखि सुडेसम्म करिब १० किमि खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण कार्य अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर सहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इन्जिनियर धनमाया मिश्रले जानकारी दिइन् । उनका अनुसार उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौता अनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवेका साथै सडक कालोपत्रे गरिनेछ ।
चितवनको घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिने जनाइएको छ । दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुई पाँग्रे सवारी साधन आवतजावत गरेपनि दुई पाँग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन तर बस तथा अन्य सवारी साधन भने पुलको अभावमा तनहुँ क्षेत्रमै रोकिन गरेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे–आँबुखैरेनी–मुग्लिन हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।
यसैविच पहिरोको कारण बन्दिपुर गाउँपालिका–६ खहरेका केही घरहरुमा क्षती पुगेको छ भने सेतीगंगा आधारभुत विद्यालयमा पनि क्षती पुगेको विद्यालयका प्रअ थापा मगरले बताए । पहिरोको कारण विद्यालयको आइसिटी कक्षा र साइन्स ल्याब कक्षा कोठामा पूर्ण क्षति पुगेको प्रअ थापा मगरले बताए ।
पहिरोले स्थानीय मंगल बहादुर गुरुङको घर पूर्ण रुपमा क्षति पुगेको छ भने, बर्जबहादुर गुरुङ र डुलबहादुर गुरुङको आँशिक क्षति भएको उनले बताए । साथै पहिरोले करिब ३० रोपनी खेतीयोग्य जमिन पनि नोक्सान भएको छ । यसैगरि पहिरोको कारण विद्युतका पोल ढलेपछि त्यस क्षेत्रमा विद्यतु अवरोध समेत भएको थापाले बताए ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पहिरोबाट भएको क्षती संकलन कार्य सुरु भएको क्षती भएकालाई गाउँपलिका र जिल्ला विपद् व्यवस्थापन समिति मार्फत पनि राहत उपलब्ध गराइने बताए ।