बन्दिपुर, पुस ११
पाहाडकी रानीको नामले चिनिने तनहुँको पर्यटकीय पलिका बन्दिपुर गाउँपालिकालाई आगामी सन २०२५ लाई बन्दिपुर भ्रमण वर्षको रुपमा मनाइने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा गत असोज १२ गते घोषणा गरिएको ‘भिजिट बन्दिपुर–२०२५’ (भिजिट बन्दिपुर) कार्यान्वयनको क्रममा रहेको छ ।
बन्दिपुर भ्रमण वर्षको बारेमा जानकारी दिने उद्देश्यले विहिबार बन्दिपुरमा पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दिपुरमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ‘भिजिट बन्दिपुर–२०२५’ घोषणा गरिएको बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले बन्दिपुर भ्रमण वर्ष मनाउन लागिएको अध्यक्ष थापाले बताए ।
पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । घुम्न जाउँ है बन्दीपुर अन्तर्गत अघिल्लो आर्थिक वर्ष देशका प्रमुख सहरहरू काठमाडौँ पोखरा चितवन बुटवल भैरहवा लगायतका स्थानमा त्यहाँका सरोकारवाला निकाय तथा विभिन्न संघसंस्था सँग अन्तरक्रिया गरी बन्दीपुर घुम्नका लागि निम्ता गरिएको अध्यक्ष थापाले बताए ।
बन्दीपुरको सुन्दरता, यहाँको ऐतिहासिक पुरातात्विक क्षेत्र मठ मन्दिर तथा गढी लगायतका क्षेत्रहरूको प्रचारप्रसार गरि आन्तरिक र बाह्य पर्यटकहरूको संख्या वृद्धि गर्ने भ्रमण वर्षको उद्देश्य राखिएको छ । बन्दिपुर क्षेत्रको पर्यटकीय आकर्षण, उद्योग व्यापार, भौतिक पुर्वाधार तथा मानव शक्तिको विकासका साथै प्रबद्धनात्मक गतिविधिहरुमा गुणात्मक सुधार ल्याउनकोलागि बन्दिपुर भ्रमण वर्ष २०२५ आयोजना गरिएको भ्रमण वर्ष कार्यक्रमका मुल संयोजक बैंशबहादुर गुरुङले बताए । भ्रमण वर्षको अवधिभर राती बास बस्ने गरि न्युनतम २ लाख पर्यटक बन्दिपुर भित्र्याउने लक्ष्य लिईएको भ्रमण वर्षका संयोजक गुरुङले बताए । अन्य समयमा बर्षमा करिब ६० हजार पर्यटक बन्दिपुरमा बास बस्ने गरि आउने गरेको गुरुङले जानकारी दिए ।
उनले बन्दिपुरलाई एक सुन्दर, शान्त, सुरक्षित एवं सुसंस्कृतयुक्त पर्यटकीय गन्तव्यको रुपमा विश्वमाझ चिनाउने, प्रकृति र संस्कृतिमा आधारित पर्यटन क्षेत्रको विविधिकरण र विस्तारद्वारा स्थानीय समुदायमा रोजगारको सिर्जना गरि उनीहरुको जिवनस्तरमा सुधार ल्याउने, बन्दिपुर क्षेत्रका मुर्त एवं अमुर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरि तिनिहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरि स्थानीय समुदायदेखी अन्तराष्ट्रिय स्तरसम्म एक आपसमा सम्मान, सद्भाव एवं भाइचाराको अभिबृद्धी गर्ने तथा बन्दिपुर इको कल्चरल टुरिजम प्रोजेक्टका रणनीतिक योजनाको निरन्तरताका साथै बन्दिपुर पर्यटन गुरुयोजनाको प्रभावकारी कार्यान्वयनकालागि सहयोग पु¥याउनु बन्दिपुर भ्रमण वर्षको मुख्य उद्देश्य रहेको संयोजक गुरुङले बताए ।
बन्दीपुरका विशेष गन्तव्यहरूलाई चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरी क्युआर कोडबाट स्क्यान गरी सजिलै पढ्न हेर्न र सुन्न सकिने व्यवस्था गरिसकिएको छ । गत आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाको पर्यटकीय क्षेत्रको बारेमा पर्यटकहरूलाई बुझ्न सहज गराउनका लागि भिडियो डकुमेन्ट्री समेत निर्माण गरी प्रचारप्रसार गरिराखिएको छ ।
यसैगरि बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुर–२०२५ मा वर्षभरी गाउँपालिकाका सबै वडाहरूमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी पर्यटकीय क्षेत्रलाई थप प्रवद्र्धन गरिने र वर्षभरि नै पर्यटकहरूलाई विभिन्न प्याकेज दिईने बताए ।
बन्दिपुर भ्रमण वर्षको क्रममा बन्दिपुर गाउँपालिका भित्र रहेका विभिन्न होमस्टेहरुको प्रबद्र्धन र प्रचार प्रसार गर्ने, पर्यटकीय पुर्वाधारहरुको विकास गर्ने, पर्यटकहरुको बसाई लम्ब्याउन विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने, खाना महोत्सव तथा स्थानीय उत्पादनहरु सुन्तला, मह, पिडालु, मास लगायतको प्रबद्र्धन गर्ने कार्यक्रम सन्चालन हुने भ्रमण वर्ष २०२५ का सचिवालय संयोजक विक्रम पियाले बताए ।
बन्दिपुर भ्रमण वर्षका प्रचार प्रसार उपसमितिका संयोजक राजु बानियाले भ्रमण वर्षको कार्यक्रमको बारेमा सन्चार माध्यम मार्फत देश विदेशसम्म जानकारी गराउने र बन्दिपुरमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइने बताए । भ्रमण वर्षका सरसफाई उपसमितिका संयोजक एवं ग्रिन आर्मीका जिल्ला कार्यक्रम संयोजक बसन्त पौडेलले भ्रमण वर्षको शुभारम्भलाई लक्षित गरि यही पुस १३ गते शनिबार बन्दिपुर प्रवेशद्वारदेखी बन्दिपुर बजासम्म ग्रिन आर्मीको संयोजनमा बृहत सरसफाई कार्यक्रम गरिने बताए ।
बन्दिपुर क्षेत्रको पर्यटन प्रबद्र्धन र पर्यटन विकासका लागि सन २०२५ लाई बन्दिपुर भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरि बन्दिपुर गाउँपालिकाले बन्दिपुर भ्रमण वर्ष २०२५ कार्यक्रम सन्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ पारित गरिसकेको छ । उक्त कार्यविधिले भ्रमणवर्ष प्रभावकारी, पारदर्शी, मितव्ययी एवं नतिजामुखी तबरवाट सन्चालन, अनुगमन तथा मुल्यांकनका साथै अभिमुखीकरणलागि विभिन्न समिति तथा उपसमितिहरुको व्यवस्था गरेको अध्यक्ष थापाले बताए । भ्रमण वर्ष बन्दिपुरको आफ्नै कार्यक्रम रहेको हुँदा यो अभियानमा लाग्ने खर्चको ५० प्रतिशत आर्थिक दायित्व बन्दिपुर गाउँपालिकाले व्यहोर्ने अध्यक्ष थापाले जानकारी दिए ।
बन्दिपुरको मौसम गर्मीमा शीतलता जाडोमा बिहानै घामको किरण त्यस्तै यहाँबाट देखिने दर्जनौं हिमशृङ्खला, संस्कृति रहनसहन सयौँ वर्ष पुरानो बस्ती पर्यटकहरूको आकर्षण हो । यसैगरि खड्गदेवी मन्दिर, बिन्ध्यबासिनी, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, पातालीद्वार गुफा, मणि मुकुन्दसेन पदमार्ग (मिनी ग्रेटवाल), तीनधारा, टुँडिखेल, पहाडपानी, सहिद स्मारक, रानी वन, गुम्बा, मणि मुकुन्देश्वरी, पद्म पुस्तकालय रामकोट, धरमपानी, कोरीखा हुस्लाङकोट चन्द्रकोट लगायतका स्थानहरूलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा राखेको छ ।
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
भ्रमण वर्षको मन्त्री दाहालले उद्घाटन गर्ने
यसैविच बन्दिपुर भ्रमण वर्ष आगामी पुस १७ गते सन २०२५ को जनवरी १ तारिख (नयाँ वर्ष)को दिन नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्ने भएका छन् । उक्त अवसरमा बन्दिपुर बजारमा बृहत कार्यक्रम हुने भएको छ । भ्रमण वर्षको अवसरमा पुस १७, १८ र १९ गते बन्दिपुरमा खाना तथा सांस्कृतिक महोत्सव आयोजना गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।