दमौली, पुस १५
बन्दीपुर गाउँपालिका वडा नम्बर ६ खहरेटारमा तमू ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गरियो ।
मिलिजुली युवा क्लबको आयोजनामा भएको उक्त कार्यक्रमको व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै श्रेष्ठले युवाहरूको सक्रिय योगदानले हाम्रो संस्कृतिको संरक्षण गर्नमा ठूलो भूमिका खेल्ने बताए । तमू ल्होछार जस्ता सांस्कृतिक पर्वहरूको संरक्षणमा युवाहरूको भूमिका हुने भन्दै श्रेष्ठले ल्होछार जस्ता चाडपर्वहरूले हाम्रो संस्कृतिको धरोहरलाई जीवित राख्न मद्दत गर्ने बताए ।
कार्यक्रम संयोजक सिद्धान्त गर्जा मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मगर संघ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष खड्का बहादुर मगर, आदिवासी जनजाति युवा महासंघ गण्डकी प्रदेशका अध्यक्ष एचबी मगर लगायतका वक्ताहरुले तमू ल्होछारको सांस्कृतिक र सामाजिक पक्षमा आ–आफ्ना विचार राखेका थिए ।
सोही अवसरमा दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले उक्त ठाँउमा निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना समेत गरेको थियो । अस्पतालका डा.सञ्जय अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रकाश रेग्मी, निर्मला श्रेष्ठ लगायतले शिविरमा १५० भन्दा बढी व्यक्तिहरूलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
क्लवको आयोजनामा ल्होछारको अवसरमा भलिबल प्रतियोगिता भने मंगलबार देखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ३२ टिमले नाम दर्ता गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्धितिय हुनेलाई ६० हजार, तृतिय हुनेलाई ४० हजार र सान्तवना हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिईने कार्यक्रमका संयोजक सिद्धान्त गर्जा मगरले बताए । उद्घाटन समारोहमा स्थानिय युवाहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।