दमौली, पुस १८
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित पूर्ण स्मृति शुक्लागन्डकी एफएम पत्रकारिता पुरस्कार यस वर्ष लोकवाणी दैनिकका सम्पादक एवं देवघाट अनलाइन र देवघाट सन्देश साप्ताहिकका अध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई दिइने भएको छ ।
‘पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम.सम्मान तथा पुरस्कार’–२०८१ को लागि गठित छनौट समितिको विहिबार बसेको बैठकले पत्रकारिता पुरस्कार भट्टराईलाई दिने निर्णय गरेको हो । भट्टराई नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पुर्व अध्यक्ष हुन् । उनी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तनहुँ, प्रेस चौतारी तनहुँ लगायतका संस्थाबाट प्रदान गरिएको पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।
यसैगरि रेडियोले जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति मध्येबाट म्याग्दे गाउँपालिका–२ निवासी भिम रानाभाट ‘ज्यालादारी’ र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति मध्येबाट शुक्लागन्डकी नपा–१२ का समाजसेवी देउबहादुर गुरुङलाई पुरस्कृत एवं सम्मानित गर्ने भएको छ ।
शुक्लागण्डकी एफ.एम.९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको थियो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिँदै आएको छ ।
पुरस्कृत एवं सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमलमोहन घिमिरे रहेका थिए ।
उक्त सम्मान तथा पुरस्कार आगामी पुष २७ गते हुने रेडियोको नवौंं वार्षिक साधारणसभा एवम् छैटौ अधिवेशनको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरुलाई सम्मान गरिने अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ ।
तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई प्राथमिकता दिईने छ ।
स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।