देवघाट, पुस १८
नेपालको मध्यभागमा पर्ने हिन्दुहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा माघ महिना भर हुने देवघाट महा–महोत्सवको तयारी तिब्र पारिएको छ ।
महा–महोत्सवका संकल्पकर्ता एवं प्रसिद्ध कथा वाचक इश्वरकृष्णजी महाराजले महा–महोत्सवको तयारी तिब्रताका साथ भईरहेको बताए । उनले महा–महोत्सवले देवघाटधाम क्षेत्रको बृहत रुपमा प्रचार प्रसार गर्ने हुँदा सबैले सहयोग गर्नुपर्ने बताए । महोत्सवको बारेमा एक वर्ष अघि देखी प्रचार प्रसार गरिराखेको भन्दै इश्वरकृष्णले देवघाटबासीले यो महा अभियानमा सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । ‘देवघाट हामी सबैको भएको हुँदा सबैले यो अभियानमा सहयोग गर्नुपर्छ ।’
तीर्थराज आदिप्रयाग देवघाटधाममा माघमा ३३ करोड दीपप्रज्वलन, देवघाट दिव्यधाम शिलान्याससहित देवघाटधाम महोत्सव २०८१ ऐतिहासिक रूपमा सम्पन्न हुने इश्वरकृष्ण महाराजले बताए । ‘यस सत्कर्ममा जोडिनुहुन देवादेश नेपाल तथा देशान्तरका सनातन संस्कृतिका उपासक भक्त सज्जनहरूमा हृदयतः निमन्त्रणा गर्दछौँ’ उनले भने ‘प्रयागराजमा मकर सङ्क्रान्तिबाट महाशिवरात्रिसम्म पूर्णकुम्भस्नान हुन्छ ।’ प्रयागराजको पूर्णकुम्भमा जान अनुकूल नहुने भक्तजनहरू देवघाटधामको त्रिशूली र कालीगण्डकीको सङ्गममा स्नान गर्न सक्ने भन्दै उनले माघ महिनामा मघानक्षत्र भएको दिनमा गरिएको स्नानलाई सत्शास्त्रहरूमा भारी प्रशंसा गरिएको र देवघाटधामको केन्द्रबिन्दु सङ्गम हो । सम्भव भएसम्म सङ्गममा स्नान गर्नु उपयुक्त ठहर्छ ।’
‘हामीले पशुपतिनाथ मन्दिरको जगमा शिला राख्न पाउँछौँ कि पाउँदैनौ भन्न सक्दैनौँ, देवघाटधामकै चक्रवर्ती मन्दिरको जगपूजनमा हामी साक्षी बस्ने सौभाग्य नमिल्न पनि सक्छ । देवघाटधामप्रति धैरै भक्तहरूको भित्रीरूपमा अपनत्व रहोस् भन्ने आशयले एकलाख भक्तका हातबाट एकलाख गण्डकीका शिला निर्माणाधीन देवघाट दिव्यधामको जगमा राख्ने परिकल्पना गरिएको छ ।’ उनले भने ‘दिव्यधामले देवधाटधामलाई अन्तराष्ट्रियस्तरका भक्तहरूलाई खिच्न सफल रहनेछ । अष्टाङ्गयोगसिद्ध गलेश्वर बाबा, राष्ट्रगुरु योगी नरहरिनाथ, दण्डी स्वामी आशुतोषानन्द, राष्ट्रसन्त सन्त स्वामी परमानन्द सरस्वती, डा. स्वामी रामानन्द गिरि, डिल्लीरामबाबा, आचार्य खेमराज केशव शरणसहित वर्तमान समयमा देवघाटधामको श्रीवृद्धिमा अहोरात्र खटिइरहनुभएका सन्तचरणहरूको मुखोल्लास गर्न देवघाटधाम महोत्सव सफल हुनेमा विश्वस्त छु ।’
देवघाटमा ३० करोड भन्दा बढिको लागतमा मातापिता आश्रम बनिसकेको र त्यसलाई पुर्णता दिनुपर्ने उनले बताए । यो महोत्सव असफल भयो भने यसले देवघाटको धार्मिक महत्वमा पनि असर पर्ने उनले बताए । उनले भने ‘यसपटक मलाई सहयोग गर्नु होला, आगामी वर्षमा हुने कार्यक्रममा म सहयोग गर्छु ।’
महा–महोत्सवको तयारी स्वरुप हजारौं भक्तजन बस्न मिल्ने गरि पान्डाल निर्माण गरिएको छ । देश तथा विदेशबाट आउने भक्तजनहरुलाई देवघाटमै बास बस्न मिल्ने तयारी पनि गरिएको आयोजकले जनाएको छ । उक्त देवघाटधाम महोत्सवमा भारतबाट आउने प्रख्यात भागवत बाचिका देवी प्रतिभा, यशोदा माता, ओमप्रकाश सुवेदी, अनुराधा पाण्डेय लगायतले पनि भागवत कथा बाचन गर्नेछन् ।