देवघाट, पुस २२
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को देवघाटमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्मााणकोलागि आगामी माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा देवघाट महा–महोत्सव गरिने भएको छ । चितवनको देवघाट स्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक इश्वरकृष्णजी महाराजको संकल्पमा कालिगण्डकी र त्रिशूली नदीको संगमस्थलमा ऐतिहासिक देवघाट महा–महोत्सव २०८१ गरिन लागिएको हो । उक्त महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आयोनजा गरि ट्रष्टले महा–महोत्सवको तयारी पुरा भएको जनाएको छ ।
नेपालको एक प्रमुख धार्मिक, सांस्कृतिक र आध्यात्मिक धरोहरको रुपमा चिनिने देवघाटधाम त्रिशूली र गण्डकी नदीको संगममा अवस्थित पवित्र भूमि हो । यो स्थान हिन्दू धर्मावलम्बीहरुका लागि मोक्ष प्राप्तिको पावन धाम आदि प्रयागका रुपमा प्रख्यात छ । प्राचीनकालदेखि साधु–सन्तहरूको तपस्थली रहेको यो भूमि देवताहरुको स्नान क्षेत्र र अनेकानेक सिद्ध महापुरुषहरुको कृपा र आशीर्वादले पवित्र भएको भूमि हो । देवघाट धामले धार्मिक पर्यटनको केन्द्र बिन्दुका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्दै आएको छ । यही ऐतिहासिक स्थललाई अझ व्यवस्थित र सुदृढ बनाउँदै धर्म, संस्कृति, र सामाजिक सेवाको अभिवृद्धि गर्ने उद्देश्यले विश्व जागरण महाअभियान ट्रस्ट द्वारा देवघाट महामहोत्सव २०८१ को आयोजना गरिएको जनाएको छ ।
विश्व जागरण महाअभियान ट्रष्ट २०७१ सालमा दर्ता भइ धार्मिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ । ट्रष्टको नेतृत्वमा भरतपुर महानगरपालिका वडा नं. १, चितवनस्थित आश्रममार्फत विभिन्न धार्मिक, सामाजिक, र परोपकारी सेवाहरू सञ्चालन भइरहेका छन्। यस आश्रमले स्थानीय मात्र होइन, देश–विदेशबाट आउने भक्तजनहरुलाई समेत सेवा प्रदान गर्दै आएको ट्रष्टले जनाएको छ ।
आश्रम परिसरमा पञ्चमुखी शिवलिङ्ग र भव्य राधाकृष्ण मन्दिर (शिषमहल) स्थापना गरिएको तथा दैनिक पूजाअर्चना, भजन–कीर्तन, र प्रवचन कार्यक्रम यहाँ नियमित रुपमा सञ्चालन हुँदै आएका छन् । आश्रमले भक्तजनहरु र सेवाग्राहीहरूका लागि निशुल्क भोजन सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा देश–विदेशबाट आएका भक्तजनहरूले निशुल्क भोजन सेवा लिइरहेका छन् । आर्थिक रुपमा विपन्न केही विद्यार्थीहरूलाई आश्रमबाट निःशुल्क शिक्षा र अन्य सहयोग प्रदान गरिँदै आइरहेको ट्रष्टले जनाएको छ । २२ जनाको संख्यामा रहेका वृद्ध बुवा–आमाहरुका लागि नियमित रुपमा सेवा, आवास, र भोजन उपलब्ध ट्रष्टका अध्यक्ष डा.केशव भुर्तेलले जानकारी दिए ।
देश–विदेशबाट देवघाट धाम दर्शन गर्न आउने भक्तजनहरुका लागि आश्रमले निशुल्क भोजन र आवासको व्यवस्था गरेको भन्दै भुर्तेलले विश्व जागरण महाअभियान ट्रस्टले सञ्चालन गरेको यी सेवाहरूले देवघाट क्षेत्रको धार्मिक, सामाजिक, र आध्यात्मिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
तनहुँको देवघाटमा निर्माणाधीन माता–पिता सेवा आश्रममा ३६५ कोठाहरु रहनेछन् । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।
यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताए । उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । आश्रम संगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताए । मन्दिर र आश्रमको गरि कुल लागत करिब २०० करोड रुपैयाँ रहने जनाईएको छ । निर्माणाधीन मन्दिरलाइ हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको जनाईएको छ ।
यिनै संरचना निर्माणलाइ आर्थिक व्यवस्थापनमा सहयोग समेत होस् भन्ने उद्देश्यले माघ १ देखी ३० गते सम्म आयोजना हुने महा–महोत्सवको सुरुवात पौष २४ मा आयोजना हुने देवघाट दिव्यधामको शिलान्यास कार्यक्रम बाट हुनेछ । उक्त कार्यलाई नेपालका एकमात्र महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, १००८ स्वामी ज्ञानानन्द सरस्वतिजी महाराज, १००८ स्वामी श्री रमणानन्द गिरिजी महाराज, १००८ स्वामी श्री नाथाचार्यजी महाराज, तथा परमपूज्य श्री १००८ हरिशरण उपाध्यायजी महाराजको पवित्र आशीर्वाद र मार्गदर्शनमा अनि डा.श्रीवास कूष्ण दास ब्रह्मचारीको संयोजकत्वमा सम्पन्न गरिने ट्रस्टले जनाएको छ ।
महा–महोत्सवको कार्यक्रम अन्तर्गत यहि पौष २४ गते गणेश पूजन, भूमि शोधन, र आदिवास पूजन, २५ गते श्री नृसिंह महायज्ञ र महाशुदर्शन यज्ञ, पौष २७ गते देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गरिने छ । माघ १ देखी ३० गतेसम्म वेणी संगममा २४ घण्टा निरन्तर हरिनाम संकीर्तनको व्यवस्था गरिनेछ । त्यस्तै विद्वान ब्राह्मणहरुको सहभागितामा १०८ श्रीमद्भागवतको पाठ गरिनेछ । त्यस्तै १ लाख २५ हजार श्रीफलको हवन, १ लाख शीला पूजन र शिलान्यास समेत गरिनेछ । उक्त अपवसरमा ११ अर्ब रामनाम लेखन तथा पूजन र ३३ कोटी देवताको नाममा ३३ कोटी दीपहरुको प्रज्वलन समेत गरिने भएको छ ।
माघ महिनाभरि आयोजना गरिने यो विशेष कथाका माध्यमबाट धर्म, जीवनका मूल्य, र मान्यताहरुको महत्व बुझाउने उद्देश्य राखिएको छ। महोत्सवमा देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरुले आफ्नो ज्ञान, अनुभव, र दृष्टिकोणबाट भक्तजनहरुलाई धर्म, अध्यात्म, र जीवनका गूढ रहस्यबारे शिक्षित गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देश–विदेशमा प्रसिद्ध र ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा, प्राज्ञिक र मधुर शैलीमा प्रवचन गर्ने ख्यातिप्राप्त विदुषी पूज्या यशोदा माताजी तथा युवापुस्तामा आध्यात्मिक चेतना जगाउन युवा कथा वाचक ओमप्रकाश सुवेदीको विशेष कथा प्रवचन रहनेछ ।
महोत्सवलाई थप गरिमामय बनाउन विभिन्न विशिष्ट व्यक्तित्वहरू पतन्जलि योगपीठका आचार्य बालकृष्णजी महाराज, अनिरुद्याचार्य जी महाराज, लगाएत साधु, सन्त, महन्त आदिको विशेष उपस्थिति रहने जनाईएको छ । उक्त अवसरमा अतिथि कथा वाचकको रुपमा चैतन्य कृष्ण प्रभु, किशोर शरणजी महाराज, धर्मेन्द्र कृष्ण शास्त्री, आचार्य विष्णु भट्टराई, आचार्य वेदप्रकाश भट्टराई, शितल कृष्णजी महाराज, राघव उपाध्याय, र मनोज भण्डारी जस्ता विद्वानहरुको उपस्थिति रहने जनाईएको छ ।
उक्त अवधिभर दैनिक १० हजार भन्दा बढी भक्तजनहरुको निशुल्क भोजन र आवासको व्यवस्था गरिएको छ । प्रवचन, पाठ पारायण, पूजन, आरति, दीप प्रज्वलन आदि बिबिध कार्य सम्पन्न गर्न कार्यक्रमस्थलको तयारी स्वरूप २ ओटा सुव्यविस्थित पण्डालको निर्माण सम्पन्न भएको छ । एकै पटक करिव २० हजार भक्तहरुले सेवा लिनसक्ने तयारि भएको छ । वृद्धवृद्धाहरुलाई सहजता र सुविधाको ख्याल गर्दै आवश्यक यातायातको व्यवस्था गरिएको छ । देशैभर यातायात व्यबसायीहरुसंग सहकार्यको सुनिस्चितता गरिएको जनाईएको छ ।
महोत्सवमा करिब १० करोड रुपैयाँ आर्थिक संकलन हुने अपेक्षा राखिएको जनाईएको छ । महोत्सवका सम्पूर्ण आर्थिक गतिविधिहरु पारदर्शी रूपमा सञ्चालित गर्ने उद्देश्यले लेखापरिक्षकको नियुक्ति र क वर्गको बैंकबाट एकद्वार प्रणाली अन्तर्गत रहेर आयव्यय राख्ने व्यवस्था मिलाइएको छ भने महोत्सवको सम्पूर्ण हिसाब–किताब महोत्सवको समापनपछि एक महिनाभित्र सार्वजनिक गरिने प्रतिबद्धता जनाईएको छ ।