दमौली, माघ १६
सहिद दिवसको अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गरेको महिला हाफ म्यारथन प्रतियोगिताको उपाधि रोल्पाकी आस्मा विकले जितेकी छिन् । विकले १ घण्टा ५७ मिनेट ३४ सेकेन्डमा व्यास नगरपालिका–३ दमौलीस्थित व्यास गुफा देखि व्यास नगरपालिका–११ को ऐतिहासिक तनहुँसुर सम्मको २१ किलोमिटर दुरी पार गरि प्रथम भएकी हुन् ।
त्यसैगरी ओखलढुङ्गाकी लक्पा डिङ्मा शेर्पाले २ घण्टा ४ मिनेट ५३ सेकेन्डमा पार गरी दोस्रो भइन् भने प्रतियोगितामा काठमाडौंकी बिमला तामाङ तृतीय भइन् । तामाङले २ घण्टा १२ मिनेट ३८ सेकेन्डमा पूरा गर्नु भएको छ । त्यस्तै व्यास नगरपालिका–१० कि नम्रता गुरुङ, व्यास नगरपालिका–४ की सन्ध्या अधिकारी, व्यास नगरपालिका–१४ कि अस्मिता थापा, व्यास नगरपालिका–३ की सङ्गीता रानाभाटा र व्यास नगरपालिका–११ की युना मजकोटी सान्त्वना भइन् ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै लगायतले सयुक्त रूपमा नगद तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ८१, द्धितीयलाई ३१ हजार ८१, तृतीयलाई २१ हजार ८१ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु ११ हजार ८१ रुपियाँ प्रदान गरिएको थियो ।
महर्षी वेदव्यासको जन्मभूमि, पराशर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुर दरबारको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने तथा खेलाडीलाई हौंसला प्रदान गर्ने उद्धेश्यले दौड प्रतियोगिता गरिएको नगरपालिकाले जनाएको छ ।
बिगतका बर्षमा नगरपालिकाले सहिद दिवसको अवसरमा मानुङकोटदेखि सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर अल्ट्रा म्याराथन र अन्तर्राष्ट्रिय नारी दिवसका दिन महिला खुल्ला हाफ म्याराथन आयोजना गर्दै आएको भएपनि यस बर्षबाट एक एक बर्ष आलोपालो गरि म्याराथन आयोजना गर्ने योजना गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने ‘यसरी आयोजना गर्दा महिला र पुरुष दुबै धावकको सम्मान हुने र नगरपालिकालाई पर्न आर्थिक भार पनि कम हुने त्यसैले एक–एक बर्ष आलोपालो गर्ने योजना बनाएका हौं ।’ पुलिमराङ जस्तै तनहुँसुर पनि सहिदहरुले उत्तिकै योगदान रहेको ठाउँ भएकाले दुबै ठाउँलाई बराबर महत्व दिन पनि सहिद दिवसकै दिन कार्यक्रम आयोजना गरिएको न्यौपानेको भनाइ छ ।
महिलाहरुको क्षमतालाई सम्मान गर्दै बिगत तीन बर्षदेखि महिला हाफ म्याराथन आयोजना गर्न थालिएको उपप्रमुख एवम् म्याराथन आयोजक समितिका संयोजक इन्दिरा दरैले बताइन् । साथै महर्षी वेदव्यास, ऐतिहासीक तनहुँसुर दरवार, पर्यटकीय क्षेत्र मानुङकोट र सहिद गाउँ पुलिमराङको महत्वलाई एक साथ प्रचारप्रसार गर्न म्याराथनलाई निरन्तरता दिइदै आएको उनको भनाइ छ । महिलाहरुलाई सम्मान गर्दै पर्यटन प्रवर्दनमा टेवा पु¥याउने उदेश्यले खुल्ला हाफ म्याराथन आयोजना गरेको उपप्रमुख इन्दिरा दरैले बताइन् ।
प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले उद्घाटन गरेका थिए । सो अवसरमा सांसद आलेले यस्ता प्रतियोगिताले खेलाडीको मनोवल बढाउन टेवा पुग्ने बताए । उनले स्थानीय स्तरका खेलाडीलाई यस्ता प्रतियोगिताले क्षमता वृद्धिका लागि मद्दत गर्ने हुँदा निरन्तरता दिइनु पर्ने बताए ।