दमौली, माघ २१
तनहुँ प्रहरीले सवारी दुर्घटना न्युनिकरणकालागि सर्वसाधरणमा अनुरोध गरेको छ । ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने अभियान अनुसार तनहुँ जिल्ला अन्तर्गत पृथ्वीराजमार्गको मुग्लिङ देखि कोत्रेसम्म सडकको स्तरोन्नती भइरहेको हुँदा सवारी चालकहरुको लापरवाही र सडकको अवस्थाका कारण दिन प्रतिदिन दुर्घटना वढि रहेको हुँदा सुरक्षित भएर सवारी चलाउन सवारी चालकहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।
सवारी साधन सवारी चालकहरुले ट्राफिक नियम, लेन अनुशासनको पालना गरि सडक संकेत तथा ट्राफिक लाईटहरुको सधैं पालना गर्न तथा जथाभावी ओभरटेक नगर्न अनुरोध गरेको छ । मादक पदार्थ तथा अन्य नशाजन्य पदार्थ सेवन गरी कहिल्यै सवारी नचलाउन, सवारी चलाउनु अगाडि आफ्नो सवारी साधन ठीक छ, छैन चेक जाँच गर्न, आफूभन्दा अगाडिको सवारी साधनसँग दूरी कायम गरेर मात्र सवारी साधन चलाउन तथा सवारी साधनको क्षमता भन्दा बढी यात्रु तथा सामानहरु बोकी नचलाउन तनहुँ प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै तोकिएको निश्चित स्थान (बस स्टप) मा मात्र यात्रुहरुलाई चढाउने र झार्न, सवारी चलाउँदा आफ्नो ध्यान सडकमा मात्र केन्द्रित गर्न, सवारी चलाउँदा मोबाईल फोनको प्रयोग नगर्न, ठुलो आवाजमा रेडियो क्यासेटहरु नबजाउन, सवारी चलाउँदा तोकिएको गतिभन्दा छिटो नचलाउन प्रहरीले सवारी चालकले अनुरोध गरेको छ ।
मोटरसाइकल चालकले अनिवार्य रूपमा हेल्मेट प्रयोग गरी फिता समेत बाध्न, मोटरसाईकल तथा स्कुटरलाई आफूखुसी स्वरूप परिवर्तन नगर्न, पैदल यात्रु, ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सडकमा पहिलो प्राथमिकता दिन, रातको समयमा साइकल चलाउँदा टल्कने लुगाको प्रयोग गर्न, रातको समयमा सवारी साधन चलाउँदा लाईटको लो बिमको प्रयोग गर्न, अन्य सवारीलाई संकेत बत्ती बालेर ईसारा दिन, थकान, अस्वस्थता र निद्रा लागेको अवस्थामा सवारी नचलाउन तथा लामो दूरीको यात्रामा दुईजना चालकले पालैपालो सवारी साधन चलाउन पनि तनहुँ प्रहरीले अनुरोध गरेको छ ।