देवघाट, माघ २१
चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलमा एक पटकमा एक सय जना मात्र आवत जावत गर्न पाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सुचना प्रकाशन गरि त्रिशुली नदीमा रहेको ४३ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीहरुको चाप बढेको हुँदा उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा एक सय जना व्यक्तिहरु मात्रै आवत जावत गर्ने र मोटरसाईकल पूर्णरुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय सहित सबै सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।
सस्पेन्सन बृज, डिभिजन, पुल्चोक, ललितपुरले सोमबार जिल्ला प्रशासन चितवनलाई पत्र लेखी उक्त पुल तथा सर्वसाधरण यात्रुको सुरक्षाकोलागि पुलमा सावधानीका सबै उपाय अबलम्बन गर्न अनुरोध गरेको थियो । त्रिशुली नदी र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा पूजाआजा र दर्शनको लागि देश विदेशबाट समेत तीर्थयात्री श्रद्धालुहरु आएको कारण झोलुङ्गे पुलमा तीर्थयात्रीहरुको चाप बढेको हुँदा उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा एक सय जना व्यक्तिहरु मात्रै आवत जावत गर्ने र मोटरसाईकल पूर्णरुपमा बन्द गर्ने व्यवस्था मिलाउन चितवन प्रशासनले जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुर महानगरपालिका चितवन र देवघाट गाउँपालिका तनहुँलाई अनुरोध गरेको छ ।
यसैगरि देवघाट क्षेत्र विकास समितिले त्रिशुली नदीको उक्त झोलुङ्गे पुलमा मोटरसाईकल सन्चालन गर्न रोक लगाउने भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ तनहूँ र भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटधाम, चितवन जोड्ने त्रिशूली नदी माथि निर्माण भएको झोलुङ्गे पुल ४३ बर्ष पुरानो र जीर्ण अवस्थामा रहेको हुँदा सो पुलबाट सवारी साधनहरूको आवागमन पूर्णरुपमा बन्द गर्नुपर्ने भएकोले स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणमा सवारी साधनको लागि बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
सस्पेन्सन बृज डिभिजन, पुल्चोक, ललितपुरबाट एक पटकमा एकसय जनामात्र वारपार गर्ने र मोटरसाइकल पूर्णरुपमा बन्द गर्ने भनि जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्र प्रेषित भएको हुँदा जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार उक्त पुलमा सवारी साधनहरूको आवागमन पूर्णरुपमा बन्द गर्नुपर्ने भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले प्रकाशित गरेको सुचनामा जनाईएको छ । स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको लागि आवश्यक सहयोग गर्न अनुरोध गर्दै क्षेत्र विकास समितिले यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थि भएको जनाएको छ ।
चितवनको भरतपुरलाई तनहुँको देवघाट गाउँपालिकासँग जोड्ने त्रिशुली नदीको उक्त झोलुङ्गे पुलमा पछिल्ला केही दिन यता दैनिक सर्वसाधरणको ठुलो लाम लागेको देखिन्छ । भागवत कथावाचक इश्वरकृष्ण महाराजको संकल्प र विश्व जागरण महाअभियान ट्रष्टको आयोजनामा गत माघ १ गतेदेखी देवघाटमा देवघाट महा–महोत्सव सन्चालन भएयता उक्त पुलमा दैनिक कम्तीमा पनि १० हजार भन्दा बढि सर्वसाधरणले आवत जावत गर्दै आएका छन् ।
यस वर्ष माघ १ गते माघे संक्रान्ति मेला, माघ १२ गते षट्तिला एकादशी र माघ १६ गते माघे औंशीको दिनमा त उक्त पुलबाट एक लाख भन्दा बढि सर्वसाधरणले आवत जावत गरेका थिए । उक्त तिन दिन विहान ३ बजेपछि साँझ ७ बज्दासम्म सर्वसाधरणको लाइन थियो । अत्याधिक भिड भएको कारण उक्त पुल पार गर्न मात्र १ घन्टा भन्दा बढि समय लागेको थियो । माघ १९ गते शनिबार पनि उक्त पुलबाट हजारौंले यात्रा गरेका थिए । देवघाट महा–महोत्सव अझै कम्तीमा १० दिन चल्ने र उक्त अवधिसम्म दैनिक हजारौंले उक्त पुल हुँदै यात्रा गर्छन् ।
देवघाट महा–महोत्सव सन्चालन स्थल चितवन तर्फको भाग भएपनि महत्वपुर्ण धार्मिक कार्य भने तनहुँ तर्फ रहेको भुमिमा सन्चालन भईरहेको छ । देवघाट गाउँपालिका–५ मा रहेको जग्गामा ३६५ कोठाको मातापिता सेवा आश्रम निर्माण तथा देवघाट दिव्यधाम शिलान्यास कार्यक्रम भइरहेको छ । साथै हवन लगायतका मुख्य काम पनि सोही ठाउँमा भईरहेको छ । महायज्ञमा टाढाबाट आएका सयौं भक्तजनलाई पनि उक्त निर्माणाधिन मातापिता सेवा आश्रममै सुत्ने व्यवस्था गरिएको छ । तिनै भक्तजनहरु सोही झोलुङ्गे पुल हुँदै महा–महोत्सव स्थल र दिव्यधाम निर्माण स्थलमा पटक पटक आवत जावत गर्नाले पनि यतिबेला झोलुङ्गे पुलमा भिड बढेको हो ।
यस अघि मेला हुने दिनमा दैनिक २५÷३० हजार तथा अन्य सामान्य दिनमा दैनिक पाँच हजार भन्दा बढि सर्वसाधरणले उक्त झोलुङ्गे पुलबाट आवत जावत गर्छन् । साथै देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दुरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । सोही पुलबाट दैनिक सयौं स्थानीयहरुले मोटरसाईकल पनि वारपार गर्दै पनि आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलवम मेला, बालाचर्तुदशी, माघे संक्रान्ति मेला, औंशी, एकादशी, सुर्य ग्रहण, चन्द्र ग्रहण लगायतका धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौं हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।
२०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भिड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले उक्त पुल तर्छन् । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको स्थानीय बासिन्दा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । यदि सो पुल केही भईहालेमा सयौं नागरिकको ज्यान जोखिममा पर्ने उनले बताए । देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा मोटरेवल पुल सन्चालनमा रहेको तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।