दमौली, माघ २२
व्यास नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण समुदायको कला, संस्कार, संस्कृति तथा पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर सांस्कृतिक महोत्सव हुने भएको छ । व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा आगामी फागुन ७, ८ र ९ गते व्यास नगर दोस्रो सांस्कृतिक महोत्सव गरिने भएको हो ।
विभिन्न जातजातिका संस्कार, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको सांस्कृतिक महोत्सवको छलपल तिव्र पारिएको कला तथा संस्कृति विभाग संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए । उनले नगरपालिकाभित्रका ऐतिहासिक, पौराणिक, पुरातात्विक, पर्यटकीय क्षेत्रका साथै विभिन्न समुदायका कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव सफल बनाउन विभिन्न जातीय संस्थासँग छलफल तिव्र पारिएको बताए ।
नगर प्रमुख एवं व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले नगरपालिकाभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्न महोत्सव आयोजना गरिने बताए । ‘अधिकांश जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, कला लोपोन्मुख अवस्था पुगेका छन्, यसलाई संरक्षण गर्ने दायित्व नगरपालिका हो, जसले गर्दा नगरपालिकावासीका पहिचानलाई प्रवद्र्धन तथा संरक्षण गर्न आवश्यक छ’, उनले भने, ‘महोत्सव आयोजना गर्न कार्यापालिकाको बैठकबाट पारित भइसकेको छ, अन्य तयारीको अवस्थामा अगाडि बढिसकेको छ ।’ व्यास नगर प्रज्ञा प्रतिष्ठानको समन्वयमा महोत्सव गर्ने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका न्यौपानेले जानकारी दिए ।
नगर उपप्रमुख एवं सहकुलपति इन्दिरा दरैले सांस्कृतिक महोत्सवले जातिय विभेद न्यूनीकरणा सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘संरक्षण गर्नुपर्ने समुदायका भाषा, कला, संस्कार र संस्कृतिको पहिचान पनि महोत्वमार्फत गर्न सकिन्छ, जसले नगरपालिकालाई पनि सहज हुन्छ ।’
उपकुपति काशीनाथ न्यौपानेले समुदायको मौलिकता प्रस्तुत हुने गरी महोत्सवमा सहभागी हुन आग्रह गरे । उनले आधारभूत रुपमा संस्थालाई आर्थिक सहयोग गर्ने र सम्पूर्ण समुदायमध्ये उत्कृष्ट झाँकीलाई पुरस्कृत गर्ने बताए ।
उनले भने, ‘सहभागी हुने सम्पूर्ण समुदायले पूर्ण रुपमा मौलिकता प्रस्तुत गर्नुपर्ने हुन्छ ।’ प्रज्ञा सभा सदस्य एवं पर्यटन विद हरिसिं गुरुङले जिल्लाको सबैभन्दा बढी जातजातिको बसोबास गर्ने यस नगरपालिकामा सांस्कृतिक महोत्सवको महत्व रहेको बताए । उनले भने, ‘व्यास नगरपालिकामा करिब ४० जातजातिको बसोबास रहेको छ, यहाँ बसोबास गर्ने जातजातिमध्ये केही समुदायको भाषा, कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ, यसको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’
जातीय संस्कृति पहिचान एवं कलाकार व्यवस्थापन उपसमिति संयोजक मेघनाथ रिमालले ३० देखि ५० जनाको समूहमा झाँकी प्रस्तुत गरिनुपर्ने बताए । उनका अनुसार नगरपालिकाभित्रका करिब १९ समुदायको मौलिकता झल्कने गरी संस्कृतिको प्रस्तुति रहनेछ । विशेषगरी समुदायको लोपोन्मुख संस्कृति प्रस्तुत गर्न प्रोत्साहन गर्ने उनले बताए । व्यास गरपालिका–३ वीपी वनवाटिका दमौलीमा फागुन ७, ८ र ९ गते सांस्कृतिक महोत्सव हुनेछ । महोत्सवमा बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शंख ध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला लगायतको प्रदर्शनी गरिनेछ । छलफलमा विभिन्न समुदायका संस्थाका प्रमुखको उपस्थिति रहेको थियो ।