तनहुँ । चैत १८
अव राजतन्त्र कहिल्यै फर्कदैनः एमाले स्थायी समिति सदस्य गुरुङ



नेकपा एमाले तनहुँले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सोमबार दमौलीमा शक्तिप्रर्दशन गरेको छ । करिब पाँच हजारको संख्यामा रहेको एमाले कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयबाट ¥याली प्रदर्शन गरि गणतन्त्रको पक्षमा जनता जगाएको हो । ¥यालीमा सहभागीहरुले प्रतिगमत विरुद्ध नारा लगाएका थिए ।
उक्त विशाल ¥याली पछि अनसन चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी समिति सदस्य तथा गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले राजतन्त्र मरेको सिनो भएको हुँदा अव कहिल्यै फर्केर नआउने बताए । राजतन्त्रलाई नेपाली जनताले चिहानमा गाडी सकेको हुँदा अव कहिल्यै फर्केर नआउने गुरुङले बताए ।
‘नेपाली सार्वभौम जनतालाई राजा चाहिदैन’ गुरुङले भने ‘चोर, लुटेरा, बैक ठगी र अपराधीलाई मात्रै राजा चाहिएको हो, राजतन्त्र फर्कनु भनेको मरेको मान्छे ब्युतिए जस्तै हो ।’ राजाले संधै नेपाली जनताको हक अधिकार र स्वतन्त्रता खोस्ने काम मात्रै गर्दै आएको इतिहास रहेको भन्दै उनले राजतन्त्र कालमा नेपाली जनतालाई संधै रैती बनाईएको बताए । उनले भने ‘अव नेपाली जनता रैती बन्न चहाँदैनन् ।’
‘२०४६ सालको आन्दोलनपछि पनि राजा संबैधानिक रुपमा बस्न चाहेनन्, प्रजातन्त्रको उपलब्धि माथि पटक पटक षड्यन्त्र भयो ।’ पुर्वमन्त्री समेत रहेका गुरुङले भने ‘आफ्नै दरबारमा हत्याकाण्ड गरेर ज्ञानेन्द्र शासन सत्तामा आएको हुन् ।’ २०६२÷०६३ को आन्दोलनपछि ज्ञानेन्द्रले जनतासामु झुक्न बाध्य भएको भन्दै उनले जनताले फराकिलो छाती बनाएर देशमै बस्ने व्यवस्था गरेको र पुर्व राष्ट्रप्रमुखको रुपमा सम्मान गरेर राखेका हुन् तर जनताको सम्मान उसलाई नपचेको बताए । ज्ञानेन्द्रलाई फेरि राजा बन्ने भोग जागेको र अनेक षड्यन्त्र गरिरहेको भन्दै गुरुङले अब उनको षड्यन्त्र कहिल्यै पूरा नहुने बताए । ‘फेरि कुर्सीमा बस्ने मन भए राजनीतिक दल खोलेर चुनाबमा आउनु पर्छ, सबै सेवा सुविधा त्यागेर चुनाब मार्फत संविधान संशोधन गरि कुर्सीमा बस्न पाईन्छ’ उनले भने ‘यदि यो गणतन्त्रको संविधान ज्ञानेन्द्रले मान्दिन भन्छन् भने नेपाली जनताले उनलाई छाड्ने छैनन ।’
उक्त कार्यक्रममा नेकपा एमालेका पोलिट्व्युरो सदस्य टुकराज सिग्देलले राजतन्त्रको शासन कालको तुलनामा गणतन्त्र स्थापना पछि नेपालमा भौतिक र मानविय विकास धेरै गुणाले बढेको बताए । उनले अव नेपालमा राजतन्त्र फर्कनु भनेको उल्टो बाटो हिड्नु भएको भन्दै समाज विकासको क्रममा समाज कहिल्यै पनि उल्टो बाटो हिड्न नसक्ने बताए ।
एमाले केन्द्रीय सदस्य सविता रसाईलीले समावेशी लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत बनाएर लैजानुपर्ने बताइन् । उनले राजतन्त्र कालमा दलित, महिला र जनजातीले उपभोग गर्न नपाएको बताइन् ।
एमाले जिल्ला कमिटि तनहुँका अध्यक्ष हरिराज कडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सन्चालन जिल्ला सचिव प्रदिपराज अधिकारीले र धन्यवाद मन्तव्य जिल्ला कमिटिका उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।