दुर्गानीधि कौडाल (नवराज), काठमाडौं, चैत २८
कोडिभर ६.० का अन्तिम प्रतिस्पर्धीहरू अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धाका लागि तयार भएका छन् । नेपालद्वारा आयोजित कोडिभर ६.० राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगिता अन्तर्गत गत मार्चमा युवा विद्यार्थीद्वारा प्रस्तुत कृत्रिम बौद्धिकता, रोबोटिक्स र आइओटी सम्वन्धी नवप्रवर्तन, रचनात्मकता र प्राविधिक प्रतिभाको उत्सव मनाइएको थियो ।



संयुक्त राज्य अमेरिकाको स्टेमपेडियाद्वारा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने कोडिभर प्रतियोगिता नेपालमा स्किल अप ग्लोबलसँगको साझेदारीमा निमा एकेडेमीले आयोजना गरेको थियो । यो विद्यालयका विद्यार्थीहरूका लागि विश्वको सबैभन्दा ठूलो कोडिङ प्रतियोगिता हो । यसले २१ औं शताब्दीका प्रविधिहरू प्रयोग गर्दै प्रविधिसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरका समस्याहरू समाधान गर्न भावी पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको जनाईएको छ ।

प्रतियोगितामा विभिन्न विद्यालयका ५० भन्दा बढी उत्साही सहभागीहरूले आफनो प्राविधिक सिप तथा पर्यावरणीय समस्या समाधान गर्न सक्ने कल्पनाशील तथा प्रभावकारी परियोजनाहरू प्रस्तुत गरेका छन् । यो प्रेरणादायी कार्यक्रम मार्फत २०२५ मे १६ र १७ मा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको कोडिभर ६.० एआई कोडिङ प्रतियोगिताको लागि नेपानबाट १७ उत्कृष्ट परियोजनाहरू छनोट भएका छन् । यो अन्तर्राष्ट्रिय कार्यक्रममा ३० भन्दा बढी देशका प्रतिस्पधीहरू सहभागी हुने छन् जसले अन्तर्राष्ट्रिय विशिष्ट प्राविधिक, शिक्षक र नवप्रवर्तकहरू सहितको निर्णायक मण्डलसमक्ष आफ्ना परियोजनाहरू प्रतिस्पर्धाका लागि प्रस्तुत गर्ने छन् ।
उक्त प्रतिस्पर्धा सम्बन्धमा निमा एकेडेमीका कार्यकारी निर्देशक थी निश्वल प्रधानले आफुलाई राष्ट्रिय स्तरका अन्तिम प्रतिस्पर्धीहरूप्रति गर्व रहेको कुरा बताए । प्रधानले प्रतिस्पधीहरूद्वारा आफ्नो सिप मात्र नभई दूरदर्शिता समेत प्रदर्शन गरिएको र अव विश्वले यसलाई अवलोकन गर्ने समय आएको कुरा बताए । यो कार्यक्रम एक प्रतियोगिता मात्र नभई गतिशील सिकाइसम्बन्धी प्लेटफर्म बन्यो । सहभागीहरूले आफ्ना विचारहरू आदानप्रदान गर्नुका साथै नयां प्राविधिक अवधारणाको विकास र अनुभवहरू साटासाट गर्दै एकअर्कामा दिगो सम्बन्ध स्थापित गरे। यसले नेपाली युवा विद्यावीहरूमा प्रविधिप्रति बढ्दो रुचि र सामाजिक हितका लागि नवप्रवर्तन प्रयोग गर्ने उनीहरूको अभियानलाई उजागार गरेको छ ।

स्किल अप ग्लोबलका शैक्षिक निर्देशक किरण श्रेष्ठले अन्तिम प्रतिस्पर्धीहरू अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको र उनीहरूले देखाएको प्रतिभा र कडा परिश्रमले नेपाल यस वर्ष शीर्ष ५ विजेता देशहरूमध्येमा पर्ने कुरामा प्राफू आशावादी रहेको बताए । परिवर्तनकारी युवा विद्यार्थीहरू केवल अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाको लागि मात्र तयारी नगरी सिर्जनात्मक लक्ष्य सहित कोडिङ सिपहरू विकास गर्दै सुन्दर भविष्य निर्माणको लागि अगाडि बढिरहेका छन् ।












