देवघाट । बैशाख १४
सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण गर्न लागेको कालीगन्डकी डाइभर्सन परियोजना रोक्न कालीगन्डकी नदीको तल्लो तटीय क्षेत्रका स्थानीय तहरु संगठित भएका छन् । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा पाल्पाको रम्भा गाउँपालिका–१ उत्तरबाहिनी क्षेत्र स्थित कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानमा शनिबार आयोजित ‘कालीगन्डकी डाइभर्सन रोकौं कालीगन्डकी सम्भयता संरक्षण गरौं’ विषयक विचार सभामा तल्लो तटीय क्षेत्रका १० स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले कालीगण्डकी डाइभर्सन रोक्न एक्यवद्धता जनाएका छन् ।



उक्त कार्यक्रममा कालीगन्डकी डाइभर्सनले तल्लो तटीय क्षेत्रका सम्पुर्ण स्थानीय तहको जनजिवन र जलप्रणालीमा प्रतक्ष्य असर पर्ने हुनाले डाइभर्सन गर्न नहुनेमा जोड दिइएको थियो । यस अघि १० वटै पालिकाको बैठकले उक्त डाइभर्सन रोक्ने निर्णय गरेको हुँदा उक्त निर्णय कार्यान्वयनको लागि गन्डकी र लुम्बिनी प्रदेश सरकारलाई संयुक्त रुपमा आह्वान गर्ने निर्णय पनि उक्त कार्यक्रममा भएको छ ।
यसैगरि कालीगन्डकीको महत्व जनस्तरमा प्रचार प्रसार गर्न र गन्डकीको महत्व बुझाउन पदयात्रा गर्ने निर्णय पनि भएको छ । यस अघि कालीगन्डकी डाइर्भसनमा परेको मुद्धा कमजोर र त्रुटीपुर्ण रहेको हुँदा कानुनी परामर्श गरि पुनः अर्काे मुद्धा दायर गर्ने तथा डाइभर्सनको पक्षमा आएको संयुक्त इजलासको फैसाला पुनराबलोकनकोलागि पुर्ण इजलासमा भ्याकेटमा जाने निर्णय पनि उक्त कार्यक्रममा भएको देवघाट स्थित महेश संस्कृत गुरुकुलमका आचार्य एवं कालीगन्डकी पदयात्राका संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले कालीगन्डकी डाइभर्सन योजना कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए । उनले डाइभर्सनको योजनाको विरुद्धमा गन्डकी प्रदेशको सरकारले विरोधको नेतृत्व गर्नुपर्ने बताए । डाइभर्सन योजनाले इकोसिस्टममा असर गर्ने भन्दै थापाले पाल्पाको रामपुरदेखी देवघाटसम्मका हजारौं हेक्टर खेत बाँझो हुने बताए ।
पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले कालीगन्डकी डाइभर्सन योजनाको आफुले सुरुदेखी नै विरोध गर्दै आईरहेको र कुनै पनि हालतमा योजना कार्यान्वयन गर्न नदिने निर्णय नगर कार्यपालिकाले गरेको हुँदा उक्त योजना लागु हुन नदिईने बताए । कालीगण्डकी नदी मात्रै नभएर सभ्यता पनि भएको भन्दै मेयर थापाले यसमा सबैको सांस्कृतिक, सामुदायिक सम्बन्ध गाँसिएको हुँदा डाइभर्सन योजना रद्ध हुनुपर्ने बताए ।
सो विचारविमर्श सभामा तल्लो तटीय क्षेत्रका तनहुँको देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका, नवलपुरको गैडाकोट नगरपालिका तथा बुलिङटार र बौदीकालीका गाउँपालिका, पाल्पाको रम्भा र निस्दी गाउँपलिका तथा रामपुर नगरपालिका र स्याङजाको चापाकोट र गल्याङ नगरपालिका गरि १० स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैविच कालीगण्डकी नदीको अस्तित्व जोगाउन देवघाटदेखी कालीगन्डकी नदीको शिर दामोदरकुण्ड सम्म कालीगन्डकी पदयात्रा हुने भएको छ । ‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य संकल्प र आदर्शमा सञ्चालन हुने यो पदयात्रा आगामी जेठ २२ गते देवघाटबाट आरम्भ भएर चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर सम्पन्न हुनेछ ।
राष्ट्रीय स्वाभिमान र सनातन नेपाली संस्कृतिको प्रवद्र्धनमा संस्थागतरुपमै लागिपरेको महेश संन्यास आश्रम देवघाटधामको संकल्प र आह्वानमा यो पदयात्रा सञ्चालन हुन लागेको महेश संस्कृत गुरुकुलमका आचार्य एवं कालीगन्डकी पदयात्राका संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
उक्त पदयात्रामा महेश संन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरिका साथमा गलेश्वर आश्रम, हरिहर संन्यास आश्रमका सन्तहरुको उपस्थिति रहनेछ भने नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरुको पनि उल्लेख्य सहभागिता रहने छ । साथमा अन्य हज्जारौं अध्यात्म र प्रकृतिप्रेमीहरुको उल्लेख्य सहभागिता रहने छ । देवघाटदेखि दामोदरकुण्डसम्मको उक्त पदयात्रा २२ देखि २५ दिनको रहनेछ । तराईदेखि पहाड हुँदै हिमालसम्मको पदयात्राको दुरी ४३१ किलोमिटर रहेको छ ।
कालीगन्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी हो । यसका तटवर्ती क्षेत्रहरुमा हजारौं वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । जसका कारण कालीगण्डकीका किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यताहरु विकसित भएका छन् । विश्वमा देवताको प्रत्यक्ष स्वरुप मानिने शालिग्राम यसै नदीमा मात्र उपलब्ध हुने भएकाले पुराण वाङ्मयले कालीगण्डकीलाई देवनदीका रुपमा वर्णन गरेका छन् । यसै तथ्यलाई अवलम्बन गरेर हजारौं तपस्वी ऋषिमुनिहरुले गण्डकीका पवित्र किनारहरुलाई विचार र ज्ञानसाधनाको केन्द्रकारुपमा प्रयोग गर्दै आएका छन् ।