तनहुँ । जेठ २७
बन्दीपुर गाउँपालिका वडा नम्बर २ मा २ महिनाको अवधिमा चितुवाको आक्रमणबाट २ जना बालबालिकाको मृत्यु भयो । सोमबार साँझ बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङका ६ बर्षीय छोरा उत्सव गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भयो । त्यस अघि गत चैत २९ गते सोही वडामा चितुवाको आक्रमणबाट १५ बर्षीया एक बालिकाको मृत्यु भएको थियो ।



आफ्नै घरको आँगनमा खेलीरहेको समयमा उत्सवलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट गम्भिर घाइते भएका उनलाई उपचारको लागि बन्दीपुर अस्पताल लैजाने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । यस अघि २०८१ साउन पहिलो साता पनि बन्दीपुर–४ मा चितुवाको आक्रमणबाट ११ बर्षीय बालकको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकामा मात्रै २ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भईसकेको छ ।
चितुवाको आक्रमणबाट पटक–पटक बालकालिकाको मृत्यु हुन थालेपछि पीडित बन्दीपुरबासीहरुले उक्त नरभक्षी चितुवालाई नियन्त्रण गर्नुपर्ने माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गरे । बन्दीपुरका वडा नम्बर २ र ३ बाट आएका करिब २ सय जना बन्दीपुरबासीले नरभक्षी चितुवालाई कि नियन्त्रणमा लिनुपर्ने अन्यथा मार्नुपर्ने माग गरेका थिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले चितुवाले बन्दीपुरमा निकै दुख दिएको र पटक–पटक बालबालिकामाथी आक्रमण गरेपछि स्थानीय बासिन्दाहरु निकै चिन्तामा परेको बताए । उनले जिल्ला सुरक्षा समितिले उक्त नरभक्षी चितुवाको आतंक नियन्त्रण गर्न विशेष निर्णय गर्नुपर्ने बताए ।
बन्दीपुर–२ घर भएका नेपाली काँग्रेसका नेता रेशम गुरुङले पनि नरभक्षी चितुवा नियन्त्रण गर्न प्रशासनले तदारुकता देखाउनुपर्ने बताए । उनले चितुवाको आतंकबाट बन्दीपुरका बासिन्दाहरु निकै चिन्तामा परेको बताए । बन्दीपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर कुँवरले चितुवाको डरले बालबालिका विद्यालय जान नै डराएको बताए । उनले महिला र बालबालिकाको सुरक्षाकोलागि पनि चितुवालाई मार्नुपर्ने बताए ।
बन्दीपुरमा चितुवाको आतंक नियन्त्रण गर्ने सम्बन्धमा मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । उक्त बैठकले नरभक्षी चितुवा नियन्त्रणकोलागि राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु विभागसँग समन्वय गरि बुधबारबाट नै डार्क टोली परिचालन गर्ने निर्णय गरेको छ । साथै इलाका प्रहरी कार्यालय, सव डिभिजन वन कार्यालय र गाउँपालिकाको समन्वयमा चितुवा प्रभावित क्षेत्रमा निरन्तर गस्ती खटाईने निर्णय पनि भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उक्त चितुवा नियन्त्रण गर्न गन्डकी प्रदेश सरकार र राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु विभागसँग समन्वय गर्ने निर्णय भएको बताए । सुरक्षाकर्मी र बन रक्षकहरु परिचालन गरि चितुवा प्रभावित क्षेत्रमा गस्ती खटाईसकिएको प्रजिअ अधिकारीले बताए ।
चितुवाको आक्रमणबाट मृत्यु भएका बालक उत्सवको मंगलबार दमौली अस्पतालमा पोष्टमार्टम गरियो । डिभिजन वन कार्यालयले मृतकको परिवारलाई तत्कालको लागि किरिया खर्च वापत ५० हजार उपलब्ध गराउने भएको छ । साथै नेपाल सरकारबाट प्राप्त हुने १० लाख रुपैयाँ राहतको लागि यथाशक्य पहल गर्ने भएको छ ।












