देवघाट गाउँपालिकाको १६ औं अधिवशेन सम्पन्न, नीति तथा कार्यक्रम पारित

Devghat Online

शेयर गरौ

देवघाट । असार ४

देवघाट गाउँपालिकाको गाउँसभाको सोह्रौं अधिवेशनले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि बार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार भएको गाउँसभाको १६ औं अधिवेशनले गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाद्वारा प्रस्ततु नीति तथा कार्यक्रमलाई केही संशोधन सहित सर्वसम्मतीले पारित गरेको हो ।

अध्यक्ष थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प लिईएको । उक्त संकल्प पुरा गर्न दिगो विकासको राष्ट्रिय लक्ष्यहरुलाई स्थानीयकरण गर्दै नागरिकको आधारभुत आवश्यकता पुरा गर्ने उद्देश्यका साथ धार्मिक पर्यटनको प्रबद्र्धन, गुणस्तरीय पुर्वाधार निर्माण, कृषिमा आत्मनिर्भर बन्दै आयआर्जनमा बृद्धि र स्वरोजगार कार्यक्रममा प्राथमिकता दिन तथा स्थानीय श्रोतको पहिचान र परिचालन गरि समावेशी र दिगो आर्थिक विकास मार्फत सार्वजानिक, समुदाय र नीजि क्षेत्रको साझेदारी गरिने मुख्य लक्ष्य लिईएको छ ।

देवघाट गाउँपालिकाकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, भुमिहिन, अव्यवस्थित बसोबासीहरुको बैज्ञानिक व्यवस्थापन गर्ने, सफा र सुन्दर देवघाट, धार्मिक कोणबाट पर्यटकीय क्षेत्रहरुको विकास लगायत देवघाट गाउँपालिकाको पहिचान कायम राख्ने र योजनाबद्ध शहरीकरण र वस्ती विकाससँग सम्बन्धित नीति तथा कार्यक्रमलाई मुख्य प्राथमिकता लिईएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाको विकास तथा समृद्धिको लक्ष्य प्राप्तिकालागि गाउँपालिकाले पहिचान गरेको अवसरहरुमा संविधानतः अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भई २२ वटा एकल अधिकार सहित विविध साझा अधिकार किटान हुनु, आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानून तर्जुमा तथा योजना तर्जुमाको अभ्यास हुनु, विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु, गाउँपालिका भित्र भौगोलिक तथा सांस्कृतिक, धार्मिक विविधताका कारण पर्यटनको अधिक सम्भावना रहनु तथा सबै वडाका सबै टोल सडक पूर्वाधारको पहुँच हुनु लाई ठम्याएको छ ।

त्यसैगरि गाउँपालिकाका सबै भूगोलहरूमा कृषिजन्य उत्पादनको प्रचुर सम्भावना रहनु, घरहरुको निर्माणमा भवनसंहिता पालना हुने क्रम बढ्नु तथा नक्सापास गर्न नागरिकको आकर्षण बढ्नु, कृषि तथा पशुजन्य क्षेत्रलाई पकेट क्षेत्र तथा जोन क्षेत्रको रुपमा विकास तथा विस्तार गर्ने उच्च सम्भावना हुनु, धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको लागि उच्च सम्भावना रहनु तथा सबै वस्तिहरूमा ग्रामिण विद्युतीकरण हुदै जानुलाई गाउँपालिकाको अवसरको रुपमा लिईएको छ ।

त्यस्तै गाउँपालिकाको चुनौतीहरु रोजगार उन्मुख सीपमूलक, व्यावसायिक उद्यम विकास गर्नु, आत्मनिर्भर कृषि विकास सम्बन्धी योजना ल्याउनु, वैदेशिक रोजगारबाट फर्केका सीपयुक्त जनशक्तिको सीप, अनुभव तथा पूँजीलाई उद्यम विकासमा उपयोग गर्नु, निर्माण भएको पूर्वाधारको मर्मत संभार पद्धतिको विकास गर्नु तथा भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका बस्तीमा भवन निर्माण कार्यलाई रोक्नुलाई लिईएको छ ।

त्यसैगरि सञ्चार सेवा प्रदायक संस्थाहरुबाट प्रभावकारी सेवा प्राप्ति र व्यवस्थित गर्नु, प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापन गरी अवलम्बन गरी राजश्व संकलनमा अभिबृद्धि गर्नु, विभिन्न महामारीहरूसँग समयमै परिचित हुन सचेत हुनु, जीवन उपयोगी व्यवसायिक शिक्षा प्रदान गर्नु तथा अनुशासित र मर्यादित समाजको निर्माण गर्ने कार्यलाई मुख्य चुनौती ठानिएको छ ।

आगामी आर्थिक वर्षमा जन–अपेक्षा तथा आवश्यकता, भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका योजनाहरुलाई गाउँपालिकाका गौरवका योजनाको रुपमा लिइएको छ । जसलाई उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षिय योजनाको रुपमा क्रमशः श्रोत साधनको व्यवस्था गरी सम्पन्न गरिने जनाईएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले गाउँपालिकाका गौरवका आयोजनाहरु पनि जानकारी गराएका थिए । गाउँपालिकाको गौरबको आयोजनाहरुमा घण्टाचुली भ्यू टावर पर्यटकीय स्थल देवघाट-१ र २, देवघाट धार्मिक पर्यटन पथ र ढासढुंगा वेणी संगम पदमार्ग देवघाट-५, ऐतिहासिक प्याउलीगढी, देवघाट-४ हुँडे, देवघाट–साउने, कर्ताप सडक, देवघाट-४ र ५, गाईघाट, काफलडाँडा छिपछिपे सानुभञ्ज्याङ्ग सडक, देवघाट-४, १, ३ र २ सुन्तला पकेट क्षेत्र, देवघाट-३, खाल्टे–मास्दीघाट सडक, देवघाट-२, क्वादी खानेपानी योजना, कोटा खेलकुद मैदान, खाल्टे रंगशाला, कक्षा १ देखि १२ सन्चालन भएका विद्यालय, देवघाट-४ सुन्तला नर्सरी स्थापना, मधुचन्द्र कवर्ड हल देवघाट-५ घिनाटार, जनजाति संग्रहालय देवघाट-४ कर्ताप तथा धार्मिक पर्यटन पदमार्ग देवघाट-५ रहेका छन् । यि गौरवका आयोजना सम्पन्न गर्न संघ तथा प्रदेश सरकारसँग सहकार्य गरिने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

गाउँपालिकाको आगामी असार १० गते बस्ने गाउँसभाको दोश्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले बताए ।

गाउँसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ तथा गाउँसभाका सदस्यहरुले छलफलमा भाग लिई विभिन्न सुझावहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन