देवघाट । असार ७
देवघाट गाउँपालिका–५ बद्रीमुक्ति टोल निवासी ३२ बर्षीय प्रकाश पौडेल हत्यामा संलग्न भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ५ गते विहिबार पौडेललाई हत्या गरे पश्चात फरार रहेका महोत्तरी जिल्ला बर्दिवास नगरपालिका–१ बस्ने बर्ष ४६ का जोगी भन्ने लोक बहादुर महतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।



इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी निरीक्षक उदयराज पौडेलको कमाण्डमा खटिई गएको चार जनाको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा भरतपुर महानगरपालिका–१ देवघाट स्थित रोटरी क्लवले सञ्चालन गरेको बृद्धाआश्रममा लुकछिपी बसेको अवस्थामा महतलाई पक्राउ गरेको हो ।
यसअघि सोही हत्यामा संलग्न रहेका मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–३ हटिया घर भई तनहुँको देवघाट गाउँपालिका–५ मा ज्याला मजदुरी गरी बस्ने वर्ष ४२ का राम लामा र सोही ठाउँमा मजदुरी गर्ने पाल्पा जिल्लाको तानसेन नगरपालिका–८ नयाँपाटी घर भएका वर्ष २८ को बुद्ध सारू मगर पक्राउ परिसकेका छन् ।
पक्राउ गरिएका लामा र सारु मगरलाई तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । “मदिरा सेवन गरी कुटपीटबाट पौडेलको हत्या गरेपछि फरार दुई जनालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याइसकेको छ ।” महतलाई भने आइतबार अदालत पेश गरिने भएको छ ।
घर देखि तीनसय मिटरको दुरीमा रहेको कच्ची सडकमा बिहान पाँच बजेको समयमा पौडेल लडिरहेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीमा खबरका थिए । अचेत अवस्थामा भेटिएका उनलाई तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन लगिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।












