तनहुँ । असार ११
बन्दीपुर गाउँपालिकाले ‘स्वस्थ्य गाउँ सहर बन्दिपुरको बहार, जनताको घर–घरमा स्वास्थ्य उपचार’ भन्ने नारा अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्यलाई जनताको आधारभुत अधिकारको रुपमा मान्दै बन्दीपुरले स्वस्थ्य बन्दीपुर र जनताको घर घरमा स्वास्थ्य उपचारको नीति लिएको हो ।



संघ, प्रदेश सरकारबाट प्राप्त सशर्त कार्यक्रम र बजेटसँग तालमेल हुन गरी स्वास्थ्यका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन थप बजेटको व्यवस्था गरी सर्वव्यापी पहुँचको अवधारणा अनुसार नगरपालिकावासीलाई निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
बन्दीपुर गाउँपालिकाका अस्पताल, स्वास्थ्य चौकी तथा आधारभुत शहरी स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य, पोषण लगायतका सेवाहरु र उपचारात्मक सेवाको लागि आवश्यक आधारभुत तथा आकस्मिक औषधी, उपकरण तथा सामाग्री को प्रयाप्त व्यवस्था सहित जनशक्तिको उचित व्यवस्था मिलाउने तथा बन्दिपुर अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई सुदृढिकरण गर्नु नवनिर्मित भवन बाट सेवा सन्चालन गरिने नीति तथा कार्यक्रममा उल्लखे छ ।
गाउँपालिकाका सबै वडामा स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन जनतालाई प्रोत्साहित गरिने तथा संविधानले निर्देश गरे अनुसार गुणस्तरिय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच स्थापित गर्ने नीति बन्दीपुरले लिएको छ । साथै गाउँपालिका भित्र रहेका कड़ा रोग लागेका विपन्न नागरिक, एवम् निम्न आर्थिकस्तर भएका जनताहरुलाई स्वास्थ्य विमा कार्यक्रममा निशुल्क सहभागी गराउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

‘स्वास्थ्य गाउँसहर बन्दिपुरको बहार, जनताको घर–घरमा स्वास्थ्य उपचार’ भन्ने सोचका साथ दीर्घ रोगी, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरीहरुलाई घरदैलोमा स्वास्थ्य परिक्षण, परामर्श तथा प्राथमिक उपचारको व्यवस्था गरिने नीति लिईएको छ । वर्थिङ्ग सेन्टरहरुलाई थप सुदृढिकरण गर्नु आवश्यक उपकरणको सहित दक्ष प्रसुतीकर्मीबाट प्रसुती गराउने व्यवस्थापन मिलाउने तथा प्रसुतीको अवस्थामा भएको जटिलताको व्यबस्थापन गर्न निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरि बन्दीपुर गाउँपालिका लाई पुर्ण संस्थागत प्रसुती सेवा (घरमा हुने प्रसुती शुन्य) घोषणा गरिनेछ ।
बन्दीपुर गाउँपालिकाका महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरि सोको खोजपडताल, परिक्षण, निदान तथा प्रेषणको व्यवस्था मिलाइने भएको छ । ‘नियमित जाँच गरौं, समयमा रोग पत्ता लगाऔंं’ नसर्ने रोग सचेतना अभियान द्वारा नसर्ने रोगबाट मृत्युको कारण बनेको, यसको नियन्त्रण व्यक्ति र समाजको जीवनशैली परिवर्तन आएपछि मात्र सम्भव हुने भएकाले त्यस अनुरुपको स्वास्थ्य प्रणाली विकास गर्न नसर्ने रोगहरुको उपचारलाई आधारभुत स्वास्थ्य सेवा केन्द्र देखिनै व्यवस्थापन गरि अस्पताल सम्म पहुँच सुनिश्चित गर्नुका साथै अन्य उपचार पद्धतिलाई नसर्ने रोगहरुको स्क्रिनिङ, उपचार र रोकथामका लागि एकिकृत रुपमा सन्चालन गरिने भएको छ ।
‘शैक्षिक संस्थामा स्वास्थ्य कार्यक्रम’ मासिक रुपमा किशोरकिशोरीहरु लक्षित प्रजनन एवम् मनोबैज्ञानिक बिषयमा अन्तक्र्रिया एवम् अभिमुखीकरण लगाएतका स्वास्थ्य सचेतना एवम् स्वाथ्य शिक्षा कार्यक्रमहरु सन्चालन गरिने तथा बिद्यार्थीहरुको दन्त एवम् नेत्र परिक्षणको प्रचारप्रसार एवम् शिबिरहरु सन्चालन गरिने बन्दीपुरले नीति लिएको छ ।












