बन्दीपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी बन्दैः जेठ महिनामा २२४१ जना सेवाग्राही

Devghat Online

शेयर गरौ

तनहुँ । असार ११

बन्दीपुर गाउँपालिकाद्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो समय स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएपछि अस्पतालमा आउने सेवाग्राहीको संख्या पनि ह्वात्तै बढेको छ । बन्दीपुर अस्पतालका अनुसार उक्त अस्पतालमा जेठ महिनामा २२४१ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त संख्यामा आकस्मिक सेवा लिने सेवाग्राहीको संख्या समावेश नभएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेसु डा. अनिल गिरीका जेठ महिनामा सेवाग्राहीहरु २२४१ जना रहेका छन् । जसमा नियमित ओपिडी सेवा लिनेहरु १२३९ जना (५५ दशमलव २९ प्रतिशत) र अतिरिक्त ओपिडीका सेवाग्राहीहरु १००२ जना (४४ दशमलव ७१ प्रतिशत) रहेका छन् । बन्दीपुर अस्पतालमा बैशाख महिनामा नियमिति ओपिडी सेवा लिनेको संख्या १०८९ र अतिरिक्त ओपिडी सेवा लिनेको संख्या ६१९ गरि जम्मा ओपिडी सेवा लिनेको संख्या १७०८ रहेको छ ।

नियमित ओपिडी सेवामा नियमानुसार कार्यालय खुल्ने दिन बिहानको १० बजेदेखि दिनको २ बजे बजेसम्म टिकट काटी सेवा र अतिरिक्त ओपिडी सेवामा नियमानुसार कार्यालय खुल्ने दिन बिहानको ७ बजेदेखि बिहानको १० बजेसम्म र दिनको २ बजेदेखि बेलुकी ८ बजेसम्म तथा सार्बजनिक बिदाको दिनको बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म टिकट काटी सेवा लिने सेवाग्राहीहरु पर्छन् ।

बन्दीपुर अपतालमा गत जेठ १ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्सरे सेवा सुरु भएको छ । अस्पतालले हरेक सोमबार र बिहीबार बिहान ८ बजेदेखि भिडियो एक्सरे सेवा प्रदान गर्ने जनाएको छ । बन्दीपुर अस्पतालमा नयाँ स्वास्थ्य सेवा सुरु भएपछि स्थानीय बासिन्दाले नजिकै नै सहज र गुणस्तरीय उपचार सेवा पाउन थालेका छन् ।

बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गिरीका अनुसार अस्पतालमा भिडियो एक्सरे सेवा अन्य दिनहरूमा पनि उपलब्ध हुने भए तापनि बिरामीहरूको सुविधालाई मध्यनजर गर्दै विशेष रूपमा हप्ताको दुई दिन नियमित सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘बिरामीहरूको आवश्यकतालाई ध्यान दिँदै हामी सेवा सुविधा विस्तार गर्दै आएका छौं, आगामी दिनमा अझ प्रभावकारी रूपमा अस्पतालको सेवा सञ्चालन गर्दै जाने हाम्रो योजना छ ।’

यस्तै, अस्पतालमा गत वैशाख २४ गतेदेखि सुगर (मधुमेह) का बिरामीका लागि तीन महिनामा एक पटक गरिने परीक्षण सेवा पनि सुरु गरिएको छ । यस सेवाबाट मधुमेहका बिरामीहरूलाई आफ्नो स्वास्थ्य बारे जानकारी लिन सहज भएको छ ।

अस्पतालका मेसु डा. गिरीले अस्पतालको नेतृत्व सम्हालेपछि यहाँ ३६५ दिन नै ओपिडी सेवा प्रदान गरिने व्यवस्था मिलाइएको हो । शनिबार र सार्वजनिक बिदाका दिनसमेत अस्पतालमा निःशुल्क ओपिडी सेवा उपलब्ध गराइएको छ, जसले स्थानीय बासिन्दाहरूलाई ठूलो राहत पुगेको छ । यसअघि विभिन्न अस्पतालमा कार्यरत रहँदा त्यहाँका अस्पताल सुधारमा उनले प्रशंसा कमाएका थिए ।

बन्दीपुर अस्पतालमा हाल नियमित ओपिडि सेवा, एक्सरे भिडियो एक्सरे, ल्याव सेवा, दन्त चिकित्सा विभाग बाट दाँतको सफाइ, दाँत भर्ने, जरा देखिको उपचार, नक्कली दाँत हाल्ने तथा तार बान्ने र सबै किसिमका दन्त सम्बन्धि समस्याहरुको नयाँ प्रविधिबाट उपचार लगायत आँखाको उपचार सेवा सहित गाउँपालिकाको बिभिन्न वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क स्वास्थ्य शिबिर समेत संचालन हुँदै आइरहेको छ ।
२०२२ सालमा स्थापना भएको बन्दीपुर अस्पतालमा हाल १५ शैयाको क्षमता रहेको छ। अस्पतालमा हाल ४ जना डाक्टरहरूको टिमले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । दाँत तथा आँखाको उपचार, आकस्मिक सेवा, सुत्केरी सेवा, वृद्धा तथा अपाङ्ग र अति विपन्नलाई निःशुल्क उपचार, एम्बुलेन्स सेवा, माइनर अपरेशन, फार्मेसी, ल्याब, भिडियो एक्सरे र एक्सरेजस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण श्रेष्ठका अनुसार, चाडै नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने योजना छ । साथै, वडा नम्बर १ स्थित डुम्रे बजारमा विस्तारित सेवा सञ्चालन गर्नका लागि गाउँपालिकाले तीव्र रूपमा काम गरिरहेको जनाएको छ ।

दैनिक १३ घण्टा ओपिडी समय हुने हुँदा चिकित्सक र सेवाग्राहीहरु वीचको परामर्श सेवामा यथेस्ट समय मिल्ने, बिहानै खालि पेटमा रगत परिक्षण गर्नुपर्ने सबै सेवाग्राहीहरुलाई थप सहज/लाभ हुने, शनिबार र सार्बजनिक बिदामा पनि सन्चालन हुने हुँदा विशेष सुबिधा/राहत हुने, बिहान र बेलुकीको समयमा अन्य तोकिएका नियमित स्वास्थ्य सेवाहरु समेत लिन सकिने/मिल्ने, कुनै बिशेष कारण रिफर हुन पर्ने भएमा पनि समय मै रिफर भई जान मिल्ने/पाईने तथा गृहिणी तथा सुत्केरीहरुलाई थप सहज हुने अस्पतालले अपेक्षा गरेको छ ।

सेवा विस्तारद्वारा अस्पतालले नयाँ सेवा वा धेरै सेवा भन्दा पनि उपलब्ध भएका स्वास्थ्य सेवाहरु सेवाग्राहीहरुको अनुकुल समयमा उपलब्ध गर्ने प्रतिबद्धता रहेको जनाएको छ । यसर्थ सेवाग्राहीहरुले पनि सोहि अनुसार राय सल्लाह सुझाब एवम् प्रतिक्रिया दिन समेत बन्दीपुर अस्पतालले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका