२५ औं दिनमा दामोदर कुण्ड पुग्यो कालीगन्डकी पदयात्राको टोली, २६ औ दिन सोमबार दामोदर कुण्डमा स्नान र पुजा

Devghat Online

शेयर गरौ

देवघाट । असार १६

कालीगन्डकी नदी तथा कालीगन्डकी सभ्यताको संरक्षणकोलागि गत जेठ २२ गतेदेखी तनहुँको देवघाटदेखी सुरु भएको कालिगन्डकी पदयात्राको टोली २५ औं दिनमा असार १५ गते आइतबार मुस्ताङको दामोदर कुण्ड पुगेको छ ।

पदयात्राको टोली २५ औं दिनमा दामोदर कुण्ड पुगेर यात्राको २६ औँ दिन सोमबार बिहान दामोदर कुण्डमा विधिवत् रुपमा स्नान, पूजा गरेर कालीगण्डकी पदयात्राको समापन गरिएको पदयात्राका संयोजक तथा देवघाट स्थित महेश संस्कृत गुरुकुलमका आचार्य फणिन्द्रप्रसाद पौडेलले बताए । पदयात्राको टोलीले यात्राका क्रममा साथ सहयोग तथा आशीर्वाद प्रदान गर्ने सम्पूर्ण गण्डकी भक्तहरु र सनातनीहरुका तर्फबाट प्रार्थना र पूजा समर्पण समेत गरेको पौडेलले बताए ।

मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड धार्मिक र प्रकृतिको मनोरम सङ्गम स्थल हो । दामोदर कुण्ड कालिगण्डकी नदीको उद्गम स्थल हो । यो दामोदर हिमशृङ्खलाको काखमा अवस्थित छ । दामोदर कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

समुन्द्री सतह देखि ४ हजार ८ सय मिटरको उचाइमा रहेको दामोदर कुण्ड हिन्दु र बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थलका रूपमा परिचित छ । दामोदर कुण्डमा पुग्न हावापानीका हिसाबले जेठ देखि साउन महिना सम्म उपयुक्त हुन्छ । दामोदर कुण्डमा स्नान गर्न विशेष गरी जनै पूर्णिमा र चैते दशैका दिन भक्तजनहरू पुग्ने गर्दछन् । यहाँ पाँच वटा कुण्डहरू छन् । भक्तजनहरूले दुई वटा ठुला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।

कालिगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङ सम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी साधनको यात्रापछि यारा गाउँ पुग्न सकिन्छ । यारा गाउँ देखि माथि झुमा ठाटी सम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजनहरू याराबाट नै घोडाको यात्रा गर्दछन् । याराबाट ५ घण्टा घोडा र करिब पाँच घण्टा नै पैदल यात्रापछि दामोदर कुण्ड पुग्न सकिन्छ । सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिन पूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि पालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ ।

दामोदर कुण्ड पुग्न करिब पाँच हजार पाँच सय मिटर भन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदर कुण्डको समथर भूभागमा पुग्न सकिन्छ । दामोदर कुण्ड सेता हिम चुचुराले घेरिएको सुन्दर उपत्यका हो ।

तनहुँको देवघाटबाट सुरु भएको पदयात्रा नवलपुर, स्याङजा, पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ र म्याग्दी र मुस्ताङ जिलल हुँदै दामोदर कुण्ड पुगेको हो । दामोदर हिमशृङ्खलाबाट प्रवाहित भएको पवित्र हिमनदी कालीगन्डकी नदी र कालीगन्डकी सभ्यताको संरक्षणकोको लागि महेश सन्यास आश्रम देवघाटको समन्वयमा ४३१ किलोमिटर दुरीको कालीगन्डकी पदयात्रा गरिएको हो । संयोजक पौडेलका अनुसार पदयात्रा निकै उत्साहजनक रुपमा सम्पन्न भयो ।

‘प्रकृति संस्कृति र सभ्यताको आरधना, कालिगन्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुल नाराका साथ आयोजित उक्त पदयात्रामा नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताहरू सहभागी थिए । पदयात्रा ४३१ किलोमिटर र २२० मिटर सामुद्रिक सतहदेखि ४९९० मिटर उचाइसम्म भएको थियो । कालीगण्डकी किनारको कालीगण्डकी करिडोर हुदै यात्रा गरिएको थियो ।
उक्त क्रममा दैनिक आठ घण्टा तथा २० किलोमिटरसम्म यात्रा गरिएको थियो । उक्त पदयात्रामा कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार गरिने, शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन तथा आध्यात्मिक साधनाको निरन्तरता मुख्य उद्देश्य रहेको थियो ।

कालीगन्डकी नदी संसारभरका सनातनीहरूको आस्थाको केन्द्र र देवनदीका रूपमा प्रसिद्ध छ । यिनै नदीमा उत्पन्न भएका दुर्लभ शालग्राम विश्वभरका हिन्दु सनातनीहरूले प्रत्यक्ष देवताका रूपमा पूजा गर्दछन् । गण्डकीका किनारमा दामोदर कुण्ड÷मुक्तिनाथदेखि हरिहरक्षेत्र देवघाटधामसम्म अनेकौँ तीर्थहरू रहेका छन् । ती ऊर्जामय गण्डकी तीर्थहरूमा अनादिकालदेखि ऋषि–महर्षि र तपस्वीहरूले साधना गरेर जीवन सफल बनाएका प्रशस्त ऐतिहासिक तथ्यहरू लोकप्रसिद्ध छन् ।

पछिल्लो समयमा गण्डकीका सन्तानहरूले नै आमाको त्यो दिव्यतम महिमा र सौन्दर्य भुल्दै गएको देखिएको छ, जसका कारण पवित्र कालीगण्डकीको धार्मिक, सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक गरिमा कमजोर बन्दै गइरहेको सन्दर्भमा जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर पवित्र कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण र संवर्धनमा टेवा पु¥याउने उद्देश्यले कालीगन्डकी पदयात्रा गरिएको पदयात्रामा सहभागी महेश सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी रमणानन्द गिरिले बताए ।

पदयात्राको क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम, ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाममा पुजा भईसकेको र अवको यात्रामा कागबेनीधाम–मुक्तिनाथधाम र दामोदरकुण्डधाममा पूजा एवं जागरण सभा आयोजना गरिएको थियो ।

कालीगण्डकी नदी र दुर्लभ शालग्रामशिलाको बहुविधि महत्व र उपयोगिताको प्रचार–प्रसार गरेर पवित्र जलसम्पदा र सभ्यताको संरक्षण र सम्बद्र्धन गर्न नेपाल तथा भारतका मुख्य पीठ एवं आश्रमका पूज्य सन्तहरूको आह्वान र सहभागितामा उक्त पदयात्रा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका