तनहुँ । साउन २२
व्यास नगर कार्यपालिकाको नियमित बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहिबार सम्पन्न भयो । उक्त बैठकले विधायन समितिबाट प्रस्तावित विभिन्न कार्यविधिहरू पारित एवं संशोधन गर्ने निर्णय गरेको छ । जसमा व्यास नगरपालिका अन्तर्गतका उच्च शिक्षा एवं विद्यालय शिक्षा लिने विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्रि सम्बन्धी कार्यविधि, २०८२, विपन्न विरामीहरूलाई प्रदान गरिने आर्थिक सहायता नियमित गर्ने सम्बन्धी कार्यविधि, २०८२, व्यासनगर अन्तर्गतका पारित विभिन्न कार्यविधि संशोधन गर्ने सम्बन्धी व्यास नगरपालिका केही कार्यविधि संशोधन सम्बन्धी कार्यविधि, २०८२ रहेका छन् ।



त्यस्तै व्यास नगरपालिका वडा नम्बर २ को कार्यालय भवनको लागि जग्गा प्राप्ति सम्बन्धमा जिल्ला समन्वय समिति मार्फत नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । व्यास नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ औं नगरसभाबाट पारित नीति तथा बजेट कार्यक्रम रातो किताब मार्फत सरोकारवालाहरूलाई सूचना प्रविधि शाखा मार्फत सार्वजनिकरण गर्ने निर्णय गरेको छ ।
संघीय बजेटबाट व्यास नगरपालिकालाई प्राप्त मावि. तथा आधारभूत विद्यालयलाई प्रदान गरिने विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक अनुदानको मावि. दरवन्दीमा गतवर्ष जुन जुन विद्यालय मापदण्ड अनुसार उपलब्ध गराउने मिल्ने हो सोही विद्यालयमा र आधारभूत दरबन्दीमा गतवर्ष कार्यान्वयन नभएको एक विद्यालयबाट हटाई उक्त एक दरवन्दी व्यासनगर ११ स्थित बसन्त आधारभूत विद्यालयलाई उपलब्ध गराउने र अन्य दरबन्दी यथावत कायम गर्ने निर्णय गरेको छ ।
विगतको लामो समयसम्म पनि व्यास नगरपालिकाको सरसफाई व्यवस्थापनका लागि आवश्यक जग्गा खरिदको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत नेपाल सरकारसँग करिव एक वर्षअघि नै माग गरिएकोमा हालसम्म पनि हुने वा नहुने निर्णय नआएको हुँदा तत्काल निर्णयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिनिधि मण्डल पठाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरि गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम आर्थिक वर्ष २०८२÷०८३ मा सन्बालनको लागि वडा नम्बर ३ छनोट गर्ने निर्णय पनि बैठकले गरेको छ ।
व्यास नगरपालिका अन्तर्गत मातृ मृत्यु निगरानी तथा प्रतिकार्य सञ्चालन सम्बन्धमा उपप्रमुखको अध्यक्षतामा ७ सदस्य समिति गठन गर्ने निर्णय गरिएको जनाईएको छ । व्यास नगरपालिकाको अनुरोधमा व्यास ७ र ८ को सहिद कालिका मार्गको स्तरीकरणका लागि गण्डकी प्रदेश सरकारबाट समपुरक योजनामा रु ५३ लाख सात हजार र व्यास ११ स्थित खड्ककाली मार्गका लागि संघीय सरकारबाट एक करोड रुपैयाँ प्राप्त हुन आएकाले संघ तथा प्रदेश कार्यविधि एवं मापदण्ड अनुसार उक्त विनियोजित रकमलाई ३० प्रतिशत मानी थप ७० प्रतिशत स्रोत सुनिश्चितता गर्ने र तत्काल टेन्डर प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि व्यास ८ बगुवा, व्यास ११ वेल्टारी र व्यास १४ केशवटारमा निर्माणका लागि प्रस्तावित स्वास्थ्य संस्थाहरूको भवनमा विनियोजित रकम प्रति स्वास्थ्य चौकी दोब्बर भन्दा बढी नहुने गरी स्रोत सुनिश्चितता गरी टेन्डर प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । स्थानीय तहको एकल अधिकार अन्तर्गत व्यास नगरपालिकाको सम्पत्तिकर सम्बन्धी विषय विज्ञहरूबाट तयार गरिएको घर जग्गा मूल्यांकनको आधार स्वीकृत गरी आवश्यक कर निर्माण एवं परिमार्जन गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्त शुरेश थापाद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।












