तनहुँ । कार्तिक १
दमौलीका युवाहरुको सक्रियतामा शनिबार बिहान भएको रक्तदान कार्यक्रममा १७ पिन्ट रगत संकलन भएको छ । प्रदेश अस्पताल दमौलीमा रगतको अभाव भएपछि ‘म बदलिए, मेरो देश बदलिनेछ’ भन्ने नाराका साथ दमौलीका युवा अभियन्ता महम्मद गफ्फार (सुदिप) को नेतृत्वमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो ।



उक्त कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिका–३ का वडा अध्यक्ष अनुप रानाले रक्तदानजस्ता मानवीय कार्यहरूले समाजमा एकताको भावना जगाउने र युवालाई सामाजिक जिम्मेवारीतर्फ उन्मुख गराउने बताए ।
अस्पतालमा रगत अभाव भएको जानकारी पाएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको युवा अभियन्ता गफ्फारले बताए । उनले रक्तदानमा सहभागी भई रगत दान दिने सबैलाई धन्यवाद दिए ।












