काठमाडौं । कार्तिक २
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको जिकीर गरेका छन् । उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई ‘तमासा’ को संज्ञा दिए ।



आइतबार सम्पादकहरूसँग ओलीले भने, ‘यो सरकार असंवैधानिक छ । यो सरकारले चुनाव गराउन चाहँदैन। त्यस्तो हुन्छ डेमोक्रेसी ? त्यसरी छानिन्छ प्रधानमन्त्री । त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन ।’ उनले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीश मानवअधिकार आयोगबाहेक अन्य ठाउँमा नियुक्त हुनै नमिल्ने जिकीर गरे । पूर्वप्रधानन्यायधीश कार्की प्रधानमन्त्री बन्नु असंवैधानिक भएको ओलीको तर्क छ ।
‘पूर्वप्रधानन्यायाधीशज्यूलाई संविधानको धारा १३२, १ २ त थाहा होला नि त ? पूर्वप्रधानन्यायाधीशले मानवअधिकार बाहेक अरु कामको जिम्मा लिन मिल्दैन । कुनै राजनीतिक नियुक्ति लिन मिल्दैन । मन्त्री खान मिल्दैन’ उनले भने, ‘पहिलो गासमै असंवैधानिक क्रियाकलाप भएको छ । नियुक्तिको प्रक्रिया, नियुक्त हुने व्यक्ति नै असंवैधानिक छ । अनि मैले के संवैधानिकै भको छ भन्नुपर्ने ? डराएर झुट बोल्नुपर्ने? असत्य बोल्न घुँडा टेक्नुपर्ने ?’
ओलीले आफूहरूलाई थुन्ने प्रयासमा सरकार रहेको भन्दै आक्रोश व्यक्त गरे । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आफूलगायत कतिपय नेतालाई सरकारले थुन्ने तयारी गरेको उनको दाबी थियो । ओलीले नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताएका छन् ।
सम्पादकहरुसँगको संवादमा बोल्दै उनले आफूले गर्दै नगरेको भनेर दाहालले झुट बोलेको दाबी गरे । ‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन,’ ओलीले भने, ‘अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर ।’
यद्यपि, राष्ट्रपतिले उपयुक्त निकास निकाल्न सिफारिस गर्नुहोस् भनेपछि आफूले सिफारिस भने गरेको ओलीको भनाइ छ । ‘मलाई उपयुक्त निकास निकाल्न तपाईहरूले सिफारिस गर्दिन्स् भनेर राष्ट्रपतिले भन्नुभयो,’ उनले भने ।
यस्तो छ ओलीको भनाइ ः राष्ट्रपतिजीले मलाई भन्नु भएको हो । केयर टेकर (कामचलाउ) प्रधानमन्त्रीको सिफारिस बिना, कसैको सिफारिस बिना राष्ट्रतिले काम गर्न गाह्रो हुन्छ । त्यसकारण मलाई उपयुक्त निकास निकाल्नका लागि तपाईंले सिफारिस गरिदिनुहोस् । हुन्छ भने मैले । जटिल अवस्थामा मैले सिफारिस गरिदिनु बान्छनीय हुन्छ भनेर मेरो सिफारिसको भाषा क्यामेराहरुमा रेर्कडेड छ । नोट गर्नु भए पनि हुन्छ । मेरो सिफारिसको भाषा के छ भने वर्तमान असामान्य र असाधरण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान, लोकतान्त्रिक र शान्तिपूर्ण अवस्थामा फर्काउनुपर्ने अवाश्यता भएकाले र यस्तो समाधान लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको संविधान भित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।
यसमा सुशीला कार्की सुन्नु भयो कतै ? मैले लेखेको यत्ति हो । यसमा सुशीला कार्की भन्ने या अरु कोही भन्ने कतै छैन । संविधान र संसद् चलाउनु हुँदैन भन्ने कुरामा सम्मानीय राष्ट्रपतिज्यू, म काम चलाउ प्रधानमन्त्री, प्रधानसेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव त्यो थियो । उहाँहरू दुवै जनाले त्यसलाई स्वीकार गर्नु भएको थियो । र, यो सहमतिका साथ मैले त्यो सिफारिस त्यस भाषामा गरेको थिएँ । मसँग प्रति छैन, परेका बेला प्रति त निस्किहाल्छ नि ।
अध्यक्ष ओलीले सरकारले आफ्नो खाता रोक्न गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले आफ्नो सम्पत्ति छानबिन गर्न कुनै आयोग नचाहिने बरु बैंक स्टेटमेन्ट लिने पुग्ने जिकीर गरे । ‘खाता रोक्का गर्ने सुन्दैछु । मैले सांसद भएर पाएको रकम छ । २०, २५ लाख होला, त्यसका लागि आयोग चाहिन्छ र ? बैंकबाट स्टेटमेन्ट लिए भयो’ उनले भने । ओलीले सम्पत्ति छानबिन बिचौलिया, ब्याकमेलर सबैको गर्नुपर्ने बताए । ‘कहिलेदेखि चाहिन्छ त्यो सम्पत्ति छानबिन सबैको गरौँ । विचौलिया, ब्लाकमेलरको गरौँ’ उनले भने, ‘सदाचारकै गर्ने हो भने सबैको गरौँ। शंका लागेकाको गरौँ ।’
ओलीले आफूले नेपो बेबी स्वीकार नगर्ने बताएका छन् । उनले त्यो स्वीकार नगर्दा अहंकार नहुने समेत उल्लेख गरे । ‘म नेपो बेबीलाई स्वीकार गर्दिनँ,यो अहंकार होइन,’ ओलीले भने, ‘के को नेपो बेबी ? नेपो बेबीको कुरा गर्दा बच्चालाई त्रास छ ।’
जेनजी आन्दोलनका बेला नेता र धनाढ्य व्यवसायीका छोराछोरीले मेहनत नै नगरी आरामको जिन्दगी बिताएको तर आफूहरु खाडी जानुपरेको भन्दै नेपो बेबीको प्रर्दाफास गरौँ (एक्सपोज नेपो बेबी) भन्ने ट्रेन्ड चलाइएको थियो ।













