काठमाडौं । मंसिर ६
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरेका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारलाई जनताले नछानेको भएकाले हट्न तयार रहने चुनौती दिए ।



उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईँ को हो चुनाव गराउने ? तपाईँसँग चुनाव गराउनु कुनै अधिकार छैन । तपाईँहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्र ।’ उनले सरकारले चुनावको नाममा तमासा देखाएको आरोप लगाए । उनले संसद् पुनस्र्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेलाई उत्तेजित बनाउने काम नगर्न सरकारलाई चेतावनी समेत दिए । जनसभालाई सम्बोधन गर्दै ओलीले आफूहरूको युवा भेला षड्यन्त्र गरेर रोकेको भन्दै आक्रोश पोखे । यो नक्कली सरकारको संज्ञा दिँदै उनले भने, ‘एमालेलाई उत्तेजित बनाउने काम नगर्नुस् । एमालेलाई जिस्क्याउने काम नगर्नुस् । यो भन्दा बढी लोकतन्त्रमाथि आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस्। अहिलेसम्म जे गर्नुभयो भयो, यो भन्दा अघि बढ्न खोज्नुहुन्छ भने तपाईँहरूको लागि हितकर हुनेछैन ।’

उनले लोकतन्त्र पुनस्र्थापना, संविधानको कार्यान्वयन गर्नको लागि सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरे । ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिनेको दाबी गरे । यो सरकार गठनबारे सर्वोच्च अदालतले उचित फैसला गर्ने विश्वास ओलीले व्यक्त गरे । तोडफोड, आगजनी र लुटपाटबाट यो सरकार बनेको भन्दै जनताको समर्थन नरहेको दाबी गरे । आफूहरूले देशमा भ्रष्टाचार अन्त्य गर्नको लागि काम गरिरहेको जिकिर गरे ।

उनले भने, ‘जेनजीको नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो । भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौँ । सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौँ । हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौँ ।’ उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा दुरुपयोग गरेर आन्दोलनमा उकासेको बताए । जेनजीको माग सबै कब्जा गरेर षड्यन्त्र गरेरै राज्यका संरचना, नेता कार्यकर्ताहरूको घर जलाइएको दाबी गरे ।













