घरदैलोमा पाएको मायाले हामिप्रतिको बिश्वास झन् बलियो बनाएको छः वाग्ले

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १२

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले घरदैलोमा जनताबाट पाएको मायाले आफुहरुप्रतिको बिश्वास झन् बलियो बनाएको बताएका छन् । चुनावी अभियानको क्रममा मतदातालाई भेट्न व्यास नपाका विभिन्न स्थानमा गएका वाग्लेले विगतमा भन्दा यसपटक जनताको माया झन धेरै पाएको बताए ।

मतदातासँगको भेटमा वाग्लेले तनहुँको विकासकोलागि एक पटक मौका दिन अनुरोध गरे । यस अघि उपनिर्वाचनमा बिजयी भएपनि पार्टी लामो समय प्रतिपक्षमा रहेको र आफुले पनि तिन वर्ष भन्दा बढि काम गर्न नपाएको भन्दै वाग्लेले अवको निर्वाचन पछि रास्वपाको नेतृत्वमा सरकार बन्ने र उक्त सरकार मार्फत आफुले तनहुँको विकासकोलागि काम गर्ने मतदाता समक्ष बताए ।

मतदाता समक्ष वाग्लेले तनहुँको विकासको लागि कनेक्टिभिटी र पुर्वाधार सुदृढिकरण, कृषि, पशुपालन र सिंचाई मार्फत ग्रामिण अर्थतन्त्रको पुनरुत्थान, शिक्षा, स्वास्थ्य र खेलकुँद र गुणस्तरीय सामाजिक लगानी मुख्य प्राथमिकतामा राखेको बताए ।
वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए । ‘सङ्घ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ, सङ्घीय सांसदको मुख्य काम ऐननियम बनाउनु हो । कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो,’ वाग्लेले भने । उनले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकांक्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।

मतदातासँगको भेटघाटमा वाग्लेले जनताको समस्या, आवश्यकता र विकासका अपेक्षाबारे छलफल गरेका थिए । वाग्लेले तनहुँको बृहत्तर विकासकोलागि रास्वपाको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए । वाग्लेले नेपाली जनताले परिवर्तन चाहिरहेको र अबको विकल्प रास्वपालाई स्पष्ट बहुमतसहित देश चलाउने जिम्मेवारी प्राप्त हुने बताए ।

पुराना गठबन्धनका नाममा हुने सत्ता–सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि पनि ‘सरकार फेर्ने घनचक्कर’ मा फसाउने भन्दै उनले यसको प्रत्यक्ष असर विकास, लगानी, रोजगारी र नागरिक सेवामा पर्ने बताए । स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेको भन्दै वाग्लेले आफुहरुसँग बहुमत माग्ने आधार र नेतृत्व पनि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू